वाणिज्य बैंकहरुको नाफा ५९ प्रतिशतले बढ्यो, राइटव्याक र गैर सञ्चालन आम्दानी बढी

  २०७१ फागुन ३ गते १०:५४     विकासन्युज

 

 

वाणिज्य बैंकहरुको निक्षेप २० प्रतिशत, कर्जा २७ प्रतिशत, सेयरपुँजी १८ प्रतिशतले बृद्धि हुँदा नाफा ५९ प्रतिशतले बृद्धि भएको छ । कर्जा र निक्षेपको व्याजदर साँघुरो हुँदै जाँदा पनि नाफा फराकिलो हुनुको मुख्य कारण बिग्रेका कर्जा असुलीमा सुधार र सम्पत्ति बिक्रीबाट भएको आम्दानी बढ्नु हो । [divider]

चालु आर्थिक वर्षको पुसमसान्तसम्ममा वाणिज्य बैंकहरुको नाफा करिब ५९ प्रतिशतले बढेको छ । माघ मसान्तसम्म वित्तीय विवरण सार्वजनिक गरेका २८ वाणिज्य बैंकहरुले पुस मसान्तसम्ममा १४ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो वर्ष सोही अवधिमा ती बैंकहरुको नाफा ९ अर्ब १२ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकहरुको चुक्तापूँजी १८ प्रतिशतले बढेर ९२ अर्ब रुपैयाँ पुगेको छ ।
यस अवधिमा बैंकहरुको निक्षेप २० प्रतिशत र कर्जा २७.२२ प्रतिशतले बढेको छ । बैंकहरुको निक्षेप १२ खर्ब ४४ अर्ब रुपैयाँ र कर्जा नौं खर्ब ७७ अर्ब रुपैयाँ रहेको छ । माघ मसान्तसम्म पनि वित्तीय विवरण सार्वजनिक नगरेकाले यस समाचारमा ग्राण्ड बैंक र लक्ष्मी बैंकको वित्तीय विवरण समावेश छैन ।
निक्षेप, कर्जा, सेयर पुँजी वृद्धिको तुलनामा नाफा वृद्धि दर उच्च रहेता पनि नाफामा भएको वृद्धि सामान्य बैंकिङ व्यवसाय विस्तारको आधारमा भएको छैन । पहिला कर्जा असुली नियमित नहुँदा गरिएको प्रोभिजल राईट व्याक भएर तथा गैर सञ्चालन आम्दानी बढेकोले खुद नाफामा उल्लेख्य टेवा मिलेको हो ।
बैंकहरुले तीन अर्ब ५७ करोड रुपैयाँ त राइट ब्याक (यसअघि खराब कर्जा जोखिमको लागि छुट्याएका रकम फिर्ता) गरेका छन । बैंकहरुको राइट ब्याकको हिस्सा नाफा रकममा २४.६७ प्रतिशत हुन आउँछ । बैंकहरुले अघिल्लो पटकभन्दा राइट ब्याक रकम पनि ४१ प्रतिशतले वृद्धि गरेका छन । बैंकर्सहरुको अनुसार यसरी उल्लेख्य मात्रामा राईट व्याक हुनु भएको समस्यामा परेका कर्जाको असुलीमा उल्लेख्य सुधार हुनु हो ।
बैंकहरुको खराब कर्जा अनुपात पनि घटेको छ । गत वर्ष पुससम्ममा बैंकहरुको खराब कर्जा औसतमा ३.४५ रहेकोमा यसपटकको पुससम्ममा भने यस्तो कर्जा औसतमा २.२६ मा झरेको छ । बैंकले सम्भावित जोखिम वापत यसपटक हर्जाना रकम पनि १४.७० प्रतिशतले घटाएका छन । यो रकम चार अर्ब २७ करोड रुपैयाँ रहेको छ ।
यसपटक बैंकहरुको गरै सञ्चालन आम्दानी (सम्पत्ति बिक्री लगायतबाट हुने आम्दानी) मा भएको वृद्धिले पनि बैंकहरुको कुल नाफामा उच्च वृद्धि गर्न सहयोग पु¥याएको देखिन्छ । बैंकहरुको गैर सञ्चालन आम्दानी तीन अर्ब ४२ करोड रुपैयाँ छ, यो रकम कुल नाफाको २३ दशलमव ६२ प्रतिशत हिस्सा हो । हुनतः राष्ट्रिय वाणिज्य बैंक एक्लैको गैर सञ्चालन आम्दानी दुई अर्ब ८७ करोड रुपैयाँ रहेको छ । उक्त बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल आवास फाइनान्सको संस्थापक सेयर बिक्रीबाट कमाएको यो आम्दानीले नै बैंकको नाफा रकममा पनि ४०१ प्रतिशत वृद्धि गरेको थियो । राष्ट्रिय वाणिज्य बैंकलाई पूर्ण अलग्याएर बाँकी बैंकको वित्तीय विवरण हेर्ने हो भनेपनि बाँकी बैंकहरुको नाफा जम्मा २९.७ प्रतिशतले वृद्धि भएको देखिन्छ । त्यस्तै, बाँकी बैंकहरुको राइट ब्याकको हिस्सापनि नाफामा २५.६ प्रतिशत देखिन आएको छ ।
बैंकहरुको खुद व्याज आम्दानी र सम्भावित जोखिम अघिको सञ्चालन नाफा दुवैमा करिब १६ प्रतिशतले वृद्धि भएको छ ।
लगानीबाट उच्च प्रतिफल लिन नसकेकोले यसको प्रभाव नाफामा परेको बैंकर्सहरु बताएका छन । ‘हाम्रै बैंकले अघिल्लो बर्षको पुसको तुलनामा छ अर्ब रुपैयाँले कर्जालगानी बढाएको छ, तर हाम्रो नाफा जम्मा चार करोड रुपैयाँले बढेको छ, उच्च प्रतिफल पाउँनु चुनौती भएको छ,’ बैकर्स एशोसिएशनका पूर्व अध्यक्ष राजनसिंह भण्डारीले भने ।
बैंकहरुको खुद ब्याज आम्दानी २४ अर्ब १० करोड रुपैयाँ र सम्भावित जोखिमअघिको नाफा १८ अर्ब ५२ करोड रुपैयाँ भएको छ । बैंकहरुको सञ्चालन नाफा भने २७ प्रतिशतले बढेर १४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । प्रभु बैंक भने १५ करोड रुपैयाँ सञ्चालन नोक्सानमा छ । नेपाल इन्भेष्टमेन्ट, मेगा, स्ट्याण्डर्ड चार्टर्ड र एनआइसी एसियाको सञ्चालन नाफा भने घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.