बैंकर्सको कार्यकाल तोकिदै, भीआईपी सिईओहरुको जागिर जाँदै

  २०७१ माघ २८ गते ११:३८     विकासन्युज

२८ माघ । गभर्नर डा. युवराज खतिवडाले आफ्नो संचालक समितिलाई छल्दै बैंक तथा वित्तीय संस्थाका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृत (सिइओ) को कार्यकाल तोक्ने तयारी थालेका छन् । आफ्नो प्रस्ताव संचालक समितिले पारित नगरेपछि गभर्नर डा. खतिवडाले आफू अध्यक्ष रहेको व्यवस्थापन समितिबाट निर्णय गराएर दुई कार्यकालसम्म काम गरिसकेका बैंक तथा वित्तीय संस्थाका अधिकारी स्वतः हट्ने गरी नयाँ निर्देशन ल्याउने तयारी गरेका हुन् ।
संचालक समितिले यस्तो निर्देशन ल्याउदा अहिलेको कार्यकाललाई पहिलो मान्नुपर्ने भन्दै गभर्नरको प्रस्ताव अस्वीकृत गरेको थियो । तर गभर्नर डा. खतिवडाले बैकल्पिक उपाय निकाल्दै अहिलेसम्मकै कार्यकाल गणना गर्ने गरी निर्देशन जारी गर्ने र सोको जानकारी आफ्नो संचालक समितिलाई गराउने भएका हुन् ।
‘अहिलेसम्म एकै संस्थामा काम गरेको सबै कार्यकाल गणना हुने र २ कार्यकाल पुगेका सबै अध्यक्ष, संचालक, प्रबन्ध संचालक र सिइओ हट्नु पर्ने निर्देशन जारी गर्ने तयारी भएको छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने –संचालक समितिलाई जानकारी गराएर निर्देशन जारी हुन्छ । राष्ट्र बैंक ब्यवस्थापन समितिले आफ्नो निर्णय संचालक समितिलाई जानकारी गराउने गरी निर्देशन जारी गर्न लागेको हो । व्यवस्थापन समितिले संचालक समितिलाई जानकारी गराएर पनि यस्तो निर्देशन जारी गर्न सक्ने कानुनी ब्यवस्था रहेको अधिकारीहरुको भनाइ छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षामा यस्तो ब्यवस्था ल्याउने वा तत्कालै निर्देशन जारी गरिहाल्ने भन्ने निर्णय भने गरेको छैन । अहिले गभर्नर डा. खतिवडा एक औपचारिक कार्यक्रमको लागि फिलिपिन्समा रहेका छन् । उनले आफू नेपाल नआउदै यस्तो निर्देशन जारी गर्न आफू मातहतका अधिकारीलाई निर्देशन दिएका भएपनि यस्तो विवादित विषयमा आफूहरु अपजस लिन नसक्ने भन्दै गभर्नर आउन्जेलसम्म पर्खिने सोच बनाइएको छ ।
राष्ट्र बैंकले एउटै संस्थामा रहेको अहिलेसम्मकै कार्यकाल गणना गर्ने र २ कार्यकालभन्दा बढी पदमा बहाल हुन नसक्ने ब्यवस्था गरेमा केहि नाम चलेका सिइओको पनि जागिर जानेछ । यस्तो ब्यवस्था तत्कालै लागू भएमा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष, उपाध्यक्षदेखि सल्लाहकारसम्मको जागिर जानेछ ।
बाणिज्य बैंकका सिइओमध्यै सबैभन्दा लामो सयमदेखि एउटै संस्थामा रहेका व्यक्ति नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा एनएमबी बैंकका सिइओ उपेन्द्र पौडेल हुन् । उनी करिब १५ बर्षदेखि सो संस्थामा कार्यरत छन् । उनको पछिल्लो कार्यकाल अब करिब २ वर्ष बाँकी छ । राष्ट्र बैंकले अहिलेसम्मकै कार्यकाल गणना गर्ने व्यवस्था लागू गरेमा अबको एक वर्षपछि पौडेलको कार्यकाल थप गर्न पाइने छैन ।
यस्तै एसोसिएसनका उपाध्यक्षसमेत रहेका मेगा बैंकका सिइओ अनिल शाहको पनि पदावधि थप हुने छैन । शाह पनि मेगा बैंकमा आफ्नो दोस्रो कार्यकाल काम गरिरहेका छन् ।
यस्तै एसोसिएसनका पूर्वअध्यक्ष तथा सल्लाहकारहरु अशोक राणा र सशीन जोशीको पनि आफूहरुले काम गरेका बैंकबाट जागिर जानेछ । राणाले हिमालयन बैंकमा सिइओ भएर काम गरेको २ कार्यकाल भन्दा बढी भैसकेको छ । जोशीले एनआइसी एशियामा सिइओको रुपमा काम गरेको पनि २ कार्यकालभन्दा बढी भएको छ । यी दुबै सिइओले आ–आफ्नो बैंकमा पछिल्लो कार्यकालको बाँकी अवधि मात्रै काम गर्न पाउने छन् ।
एकै संस्थामा काम गरेको २ कार्यकाल वा सोभन्दा बढी समय भएका अन्य सिइओहरुमा प्राइम कमर्शियल बैंकका नारायणदास मानन्धर, सिटिजन्स बैंक इन्टरनेसनलका राजनसिंह भण्डारी, सिभिल बैंकका किशोर महर्जन, बैंक अफ काठमाडौंका अजय श्रेष्ठ, सिद्धार्थ बैंकका सुरेन्द्र भण्डारी र लुम्बिनी बैंकका शोभनदेब पन्त रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.