वाणिज्य बैंकहरुको नाफा २२ प्रतिशत बढ्यो

  २०७१ माघ १८ गते ११:०२     विकासन्युज

१८ माघ । सञ्चालनमा रहेका ३० मध्ये शनिवारसम्ममा वित्तीय विवरण प्रकासित गरेका १४ वाणिज्य बैंकहरुको पुससम्मको नाफा अघिल्लो बर्षको भन्दा २२ प्रतिशतले बढेको छ । बैंकहरुको कुल व्याज आम्दानी र राइट ब्याक रकम बढेपछि नाफामा पनि वृद्धि भएको हो । अघिल्लो बर्ष पुसमा कुल चार अर्ब २२ करोड रुपैयाँ नाफा कमाएका यी बैंकले यसवर्ष भने नाफा पाँच अर्ब १६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकहरुको व्याज आम्दानी १९.६७ प्रतिशतले बढेर नौं अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।
तर बैंकर्स एशोसिएसनका पुर्वअध्यक्ष राजनसिंह भण्डारी भने बैंकहरुको नाफामा उल्लेख सुधार हुन नसकेको बताउँछन । ‘हाम्रौ बैंकले अघिल्लो बर्षको पुसको तुलनामा छ अर्ब रुपैयाँले कर्जालगानी बढाएका छौं, तर हाम्रो नाफा जम्मा चार करोड रुपैयाँले बढेको छ, उच्च प्रतिफल पाउँनु चुनौती भएको छ,’ भण्डारीले भने ।

बैकर्स एशोसिएसनमा अध्यक्ष उपेन्द्र पौड्यालले बैंकहरु बीच कर्जा बिस्तारमा तीव्र प्रतिस्पर्धा रहेकोले नाफामा उल्लेख्य सुधार हुन नसकेको बताउछन । ‘अहिले समग्र बैंकिङ क्षेत्रको कर्जा १७ प्रतिशतको दरमा बढेको छ तर आम्दानी पाँच प्रतिशतले बढेको छ, ’ पौड्यालले भने । बैंकहरुमा अहिले कर्जाको व्याजदर घटाउन ग्राहकहरबाट दबाब परेको पौड्यालले बताए ।
यो अवधिमा सिभिल, कुमारी र सेञ्चुरी बैंकको नाफामा गुणात्मक वृद्धि भएको छ । अर्काेतर्फ, ग्लोबल आइएमइ, नेपाल इन्भेष्टमेन्ट लगायतको नाफा सुस्तिएको छ । एनआइसी एसिया बैंकको नाफा भने छ प्रतिशतले घटेको छ ।
बैंकहरुले तरालता वृद्धिसंगै कर्जा वृद्धिमा पनि तीव्रता ल्याएका छन । कतिपय आफ्नो संस्थाको कुल निक्षेपको तुलनामा कर्जा ९० प्रतिशतसम्म बढाएका देखिन्छन । एभरेष्ट र नेपाल इन्भेष्टमेन्ट बाहेक सबैको निक्षेपको ८० प्रतिशतभन्दा बढि रकम कर्जा प्रवाह भएको छ ।
बैंकहरुको अघिल्लो बर्षको तुलनामा गत बर्ष राइटब्याक २४ प्रतिशतले बढ्यो । यो रकम एक अर्ब दुई करोड रुपैयाँ छ । बैंकहरुको प्रोभिजनिङ पनि ६ प्रतिशतले घटेर एक अर्ब ६० करोडमा सिमित छ । बैंकहरुको कुल कर्जामा खराब कर्जाको अनुपात औसतमा १.६१ प्रतिशत छ । कुमारी र ग्लोबल आइएमइको कुल कर्जामा खराब कर्जाको अनुपात अन्यको भन्दा धेरै छ । त्यस्तै, खराब कर्जा वापत औसतमा तीन सय ३९ प्रतिशत रकमको व्यवस्था गरेका छन ।
बैंकहरुको चुक्तापूँजी २४ प्रतिशतले बढेर ३७ अर्ब रुपैयाँ र सञ्चिती १६ प्रतिशतले बढेर २२ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । बैंकहरुको निक्षेप २३ प्रतिशत र कर्जा २९ प्रतिशतले बढेको छ । बैंकहरुको निक्षेप पाँच खर्ब ४२ अर्ब रुपैयाँ र कर्जा चार खर्ब ५२ अर्ब रुपैयाँ रहेको छ ।
बैंकहरुको रियल स्टेटमा कुल कर्जा लगानी चार प्रतिशतले बढेको छ । बैंकहरुको रियल स्टेटमा कुल २८ अर्ब ९८ करोड रुपैयाँ रहेकोे छ । यो बैंकहरुले प्रदान गरेको कुल कर्जामा ६.४० प्रतिशत छ ।
त्यस्तै, सेयरको धितोमा दिइने कर्जा (मार्जिन लेण्डिङ) मा पनि एक सय ९१ प्रतिशतले वृद्धि भएर छ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । बैंकहरुको सञ्चालन नाफा भने २५ प्रतिशतले बढेर छ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । नेपाल इन्भेष्टमेन्ट र एनआइसी एसियाको सञ्चालन नाफा भने घटेको छ ।
बैंकहरुको औसतमा पूँजी पर्याप्तता कोष अनुपात भने ११.७९ प्रतिशत छ । नेपाल बंगलादेश बैंक र एनएमबीको यस्तो अनुपात ११ प्रतिशतभन्दा कम छ । बैंकहरुले कर्जा प्रवाहको लागि दिने आधार व्याजदर औसतमा ७.३४ प्रतिशत छ । बैंकहरुको कर्जा निक्षेप बीचको व्याज अन्तर दर (स्प्रेड दर ) औसतमा ४.५९ प्रतिशत छ । कुमारी बैंकको यस्तो दर सबैभन्दा बढि आठ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.