राष्ट्रिय वाणिज्य बैंकको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गरिने

  २०७१ माघ १० गते १७:१३     विकासन्युज

१० माघ/राष्ट्रिय वाणिज्य बैंकले चुक्ता पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था ऐन अनुसार ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले बताए ।
हाल राष्ट्रिय वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड ८९ लाख रुपैयाँ छ । यसमा सतप्रतिशत सेयर नेपाल सरकारको छ ।
सरकारले राष्ट्रिय वाणिज्य बैंकमा भईरहेको सेयर बिक्री गरेमा २ अर्ब ५७ करोड ६७ लाख रुपैयाँ बराबर सेयर सर्वसाधारणमा आउनेछ । सरकारले आफ्नो सेयर बिक्री नगरी बैंकको सेयर पुँजी पनि बढाउने उदेश्यले नयाँ सेयर जारी गरेमा ३ अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा जारी हुने प्रमुख कार्यकारी अधिकृत शर्माले बताए ।
तर कुन मोडलमा सेयर जारी गर्ने भन्ने विषयमा टुङ्गो नलागेको उनले बताए । ‘बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐन अनुसार ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्छ भनेर तीन हप्ताअघि अर्थमन्त्रालयमा प्रस्ताव गरेका छौं । त्यसबारे सरकारले निर्णय गरेपछि सरकारले आफ्नो सेयर सर्वसाधारणलाई बिक्री गर्ने वा नयाँ सेयर जारी गर्ने निर्णय गर्नेछ’ उनले भने ।
अर्थमन्त्री डा रामशरण महतले वाणिज्य बैंकको उक्त प्रस्तावबारे चाँडै नै निर्णय गर्ने बताए । राष्ट्रिय वाणिज्य बैंकको स्वर्ण जयन्ती वर्ष शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै छिट्टै बैंकको ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.