सुर्यालाइफ इन्स्योरेन्समा चरम अस्थिरता, सात वर्षमा पाँच कार्यकारी प्रमुख फेरिए

  २०७१ पुष २७ गते ११:०१     विकासन्युज

सूर्यालाइफ इन्स्योरेन्स सञ्चालनमा आएको करिब सात वर्ष मात्र भएको छ । २०६४ चैतबाट सञ्चालनमा आएको यस कम्पनीमा हालसम्म पाँच जना कार्यकारी प्रमुख आए र गए । छैटौ कार्यकारी प्रमुखको लागि कम्पनीले ‘वान्टेड नोटिसी’ जारी गरेको छ । कम्पनीको यो पदमा आवेदन दिन ४ दिन बाँकी रहेको छ ।
कम्पनीको प्रमुख पदमा रहेका कतिपयको योग्यता नियामक निकाय बीमा समितिले तोके अनुरुप नपुगेपछि छोड्नु परेको जानकारहरु बताउँछन । कोही आन्तरिक विवादले त कोही सञ्चालक समितिबाट बढि किचलो भयो भन्दै निस्किएका देखिन्छन ।
अग्रवाल समूहको पकडमा रहेको यस कम्पनीको पहिलो प्रमुखको रुपमा भारतीय नागरिक बी.सी. शर्मा थिए । संस्थापक प्रमखको रुपमा रहेका शर्माले करिब ७ महिनामात्र यो जिम्मेवारी सम्हाले । त्यसपछि कम्पनीको कार्यकारी प्रमुखको रुपमा शेखर बराल, नन्द किशोर शर्मा, गोपाल धिमिरे र मनोज लाल कर्णले जिम्मेवारी सम्हाले ।
शर्मालगतै महाप्रबन्धकको जिम्मेवारी सम्हालेका शेखर बराल नै कम्पनीमा लामो समय रहेका प्रमूख हुन् । उनले करिब डेढ बर्ष कम्पनीमा व्यतित गरे । राम्रो अवसर पाएपछि बरालले सूर्यालाइफ छोडेका हुन ।
बरालले छोडेपछि केही समय रिक्त रहेको पदमा सञ्चालक मध्येकै एक नन्दकिशोर शर्माले प्रमूखको जिम्मेवारी सम्हाले । तर त्यसैबीच बीमा समितिले बीमा कम्पनीहरुको योग्यता तोक्यो । बीमा कम्पनीमा प्रमूख हुन कम्तिमा स्नातकोत्तर गरेको हुनु पर्ने लगायतका प्रावधान रहेपछि नन्द किशोर शर्माले पनि पद छोड्नु परेको हो ।
नन्दकिशोर शर्मापछि कार्यकारी प्रमूखको जिम्मेवारी सम्हालेका गोपाल घिमिरेले पनि केही महिनामा कम्पनी छाडे । सञ्चालक समितिबाट किचलो भइरहने, साना साना बिषयमा पनि निर्देशन आइरहने लगायतको कारणले घिमिरेले कम्पनी छाडेको बुझिएको छ ।
घिमिरे लगत्तै प्रमूखको रुपमा कार्यवहाक महाप्रबन्धक भएर काम गरेका मनोज लाल कर्णले सबैभन्दा छोटो समय जिम्मेवारी सम्हाले । गत भदौं २६ गते यो जिम्मेवारी सम्हालेका कर्णले गत पुस ४ गते नै कम्पनी छाडे । उनले जिम्मेवारी छाड्नुमा आन्तरिक विवाद रहेको बुझिएको छ । उनको कार्यकालमा भएको कामकारवाहीको कम्पनीले छानबिन गरिरहेको स्रोत बताउँछ ।
कम्पनीको व्यवस्थापन तहमा नै अस्थिरता देखिदै आएको छ । महाप्रबन्धकमात्र होइन कम्पनीको सहायक महाप्रबन्धकमा पनि तारम्तार फेरबदल भइरहने गरेको छ । दुई बर्षको अन्तरालमा सहायक महाप्रबन्धकमा 2 जना फेरिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.