मिडिया नीतिको मस्यौदा तयार भएको छ

  २०७१ पुष २१ गते १४:१०     विकासन्युज

सन्तोष श्रेष्ठ
अध्यक्ष, नेपाल विज्ञापन संघ (आन)

आनको अध्यक्ष भइसकेपछि तपाईंका योजनाहरू के के छन् ?
निर्वाचनकै समयमा हामीले २ सय ६३ जना सदस्यको प्रतिक्रिया र अनुभवका आधारमा आफ्ना एजेन्डा अघि सारेका थियौं । त्यही योजनाका आधारमा आनको नेतृत्वमा आएका हौं । बिना योजना हामीले जितेका होइनौं । निर्वाचनकै बेला अघि सारेका एजेन्डाहरू हाम्रा आगामी कार्यभार हुन् । तत्कालीन र दीर्घकालीन योजनासहित हामी अगाडि बढेका छौं । म टिमवर्कमा विश्वास गर्छु, त्यसकै आधारमा हामी अघि बढ्ने हो । समग्र विज्ञापन क्षेत्रको हितबाहेक अरु स्वार्थ छैन । सरकार, विज्ञापनदाता, मिडिया, विज्ञापन एजेन्सी र उपभोक्ता सबैको हितका लागि हामीले काम गर्ने हो । यी पाँचै पक्षले जित्ने गरी विन विन सिचुएसनमा आनको यो नेतृत्व अघि बढ्छ ।
पाँचैंवटा पक्षले जित्ने गरी अघि बढ्ने कुरा त्यति सजिलो छ र ?
चुनौतीका बीचमा काम गर्दा छुट्टै आनन्द हुन्छ । जहाँ समस्या हुन्छ, त्यहाँ समाधान पनि हुन्छ । यो खारिएर आएको टिम हो । त्यसकारण पनि चुनौतीको सामना गर्न हामी सफल हुन्छौं भन्ने लाग्छ । यी पाँचै क्षेत्रका केही साझा एजेन्डा हुन्छन् । विज्ञापनका क्षेत्रमा यी सबैको साझा एजेन्डा छन् । तिनैलाई अघि बढाउँछौं । आ–आफैंले जित्ने एजेन्डा छन् भने उनीहरू आफै लड्छन् । साझा एजेन्डामा हामीसँगै संघर्ष गर्छौ । विश्वासको वातावरण बनाउँछौं ।
पाँचै पक्षको साझा एजेन्डा चाहिँँ के के हुन् ?
इन्डस्ट्री मार्जिन, स्वस्थ प्रतिस्पर्धा, नीति नियमका पक्षहरू हाम्रा साझा एजेन्डा हुन् । यसमा हामी सबैले जित्ने गरी काम गर्न सक्छौं । सिस्टम, व्यावसायिकता, इन्डस्ट्री मार्जिन यी कुरामा हामी एक अर्कासँग हातेमालो गरेर विश्वास जितेर अघि बढ्न तयार छौं । त्यसका लागि म सबै पक्षलाई आह्वान पनि गर्छु ।
विज्ञापन क्षेत्रको छवि सुधार्न र व्यावसायिकताको विकासका लागि के के गर्नुपर्ने देख्नुहुन्छ ?
व्यावसायिकताको विकास र छवि सुधार्न धेरै पक्षहरूको चाँजोपाँचो मिलाउनुपर्ने देखिन्छ । पहिलो कुरा त, नीतिहरूको आवश्यकता पर्छ र त्यो हाम्रो अनुकूल हुनुपर्छ । मिडिया नीतिको मस्यौदा तयार भएको छ । त्यो हाम्रो हितमा छ । अर्काे कुरा, मिडियाले पनि व्यावसायिक चरित्र देखाउनुपर्छ । आनले पनि त्यसकै लागि काम गर्छ । हाम्रो नयाँ टिम त्यसमा प्रतिबद्ध छ । यो उद्योगलाई बनाउनेबाहेक हाम्रो पनि अर्काे उद्देश्य छैन । हामी एकताबद्ध पनि भएका छौं । यसमा विश्वासको वातावरण बनाउन सकियो भने छवि पनि सुध्रिन्छ र व्यावसायिकता पनि स्वतः विकास हुन्छ । त्यसपछि इन्डस्ट्री मार्जिन पनि बढ्छ । अनि त्यसले दक्ष जनशक्तिको आकर्षण बढ्छ । अन्ततः मिडिया क्षेत्रकै शान बढाउन मद्दत गर्छ । यो हाम्रो सपना पनि हो ।
एउटा विज्ञापन एजेन्सीको वार्षिक कारोबार कति जति होला ?
विज्ञापन क्षेत्रमा वार्षिक पाँच अर्बको कारोबार हुन्छ । २ सय ६३ वटा एजेन्सी हामीसँग छन् । बाहिर करिब ५० वटा विज्ञापन एजेन्सी छन् । त्यसरी हेर्नेे हो भने प्रतिएजेन्सीको वार्षिक कारोबार एक करोड ८० लाख रुपैयाँ जति हुने अनुमान गरिएको छ । आनभन्दा बाहिर रहेका कम्पनीहरूको कारोबार त्यति ठूलो छैन ।
यत्रो भोल्युमको कारोबारले व्यावसायिकता कायम गर्न सकिएला त ?
एजेन्सी कति चाहिन्छन् भन्ने कुरा बजारले निर्धारण गर्छ । आजका लागि हेरेर मात्रै हुँदैन । हामीले थोरै काम गर्नेवित्तिकै वार्षिक पाँच अर्बबाट बढेर ८/१० अर्ब पु¥याउन सकिन्छ । त्यसैले पनि हामी अलि आशावादी छौं ।
विज्ञापनको बजार वार्षिक कति प्रतिशतले बढिरहेको छ र त्यसमा सरकारी योगदान कति हो ?
वर्षेनी १०/१५ प्रतिशतले विज्ञापन बजार वृद्धि भइरहेको छ । माओवादीको हिंसाका समयमा समेत यो वृद्धि नै भएको थियो । अब केही छिटो गतिमा वृद्धिदर बढ्छ भन्ने लाग्छ । कुल विज्ञापनमा २०/२२ प्रतिशत सरकारी विज्ञापन नै छ । बाँकी निजी क्षेत्र तथा गैरसरकारी संस्थाहरूको छ ।
कुन चाहिँ क्षेत्रको विज्ञापन बढी देख्नुहुन्छ ?
नेपालमा निर्माण क्षेत्रको विज्ञापन न्यून छ । व्यापारको विज्ञापन नै बढी छ । वास्तवमा औद्योगिक क्षेत्रको तुलनामा व्यापार क्षेत्रको विज्ञापन बढी देखिन्छ । उत्पादन क्षेत्रका तुलनामा सेवा क्षेत्रको विज्ञापन निकै बढी नै छ ।
प्रिन्ट, ब्रोडकास्ट र अन्य मिडियामा विज्ञापनको अवस्था कस्तो छ ?
प्रिन्ट मिडियाले ४० प्रतिशत विज्ञापन लान्छ । टिभीले २५ प्रतिशत विज्ञापन ओगट्छ । तेस्रोमा पर्ने रेडियोले १०/१२ प्रतिशत विज्ञापन कभर गरेका छन् । होर्डिङ बोर्डहरूले ९/१० प्रतिशत विज्ञापन बजार ओगट्या छन् । अनि डिजिटल मिडियाले ५ प्रतिशत जति विज्ञापन ओगट्छन् । अबको पाँच सात वर्षमा त डिजिटल मिडियाले नै कायापालट गर्ने देखिन्छ ।
क्लिन फिडको मुद्दा कहाँ पु¥याउनु भयो ?
क्लिन फिडका बारेमा हामी चुप लागेर बसेका छैनौं । सञ्चार नीतिमा क्लिन फिडको कुरा समेटिएको छ । सूचना तथा सञ्चारमन्त्रीसँग हामीले प्रस्ट कुरा राखिसकेका छौं । त्यसमा क्लिन फिड नीति लागू गर्ने भनेर प्रस्ट लेखिएको छ । चाँडै क्लिन फिड कार्यान्वयनमा आउँछ । सरकार पूरै सकारात्मक छ । अब आक्रामक रूपमा अघि बढाउँछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.