नेपाली बैंकलाई चीनमा युआनमा खाता खोल्ने सुविधा

  २०७१ पुष १५ गते १२:४०     विकासन्युज

१५ पुस । नेपाली बैंक तथा वित्तीय संस्थाहरूले चीनको कुनै पनि वाणिज्य बैंकमा चिनियाँ मुद्रा युआनमा खाता खोल्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंक र चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाबीच सहमति भएपछि नेपाली बैंक तथा वित्तीय संस्थाहरूले यस्तो सुविधा पाउने भएका हुन् ।
नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै चिनियाँ मुद्रा युआन खरिद गर्ने र खरिद गरिएको युआन चीनका वाणिज्य बैंकहरूमा खोलिएको खातामा जम्मा गर्न सकिने व्यवस्था गरिएको जानकारी दिएको छ । यस्तो निर्देशनपछि नेपालको अन्तर्राष्ट्रिय व्यापारको भुक्तानीका लागि चिनियाँ व्यापारिक फर्महरूलाई एलसी, ड्राफ्ट, टीटीलगायतका माध्यमबाट हुने भुक्तानी र हिसाब मिलान युआनमा गर्न सकिने भएको छ ।
यस्तो व्यवस्थापछि नेपाली नियार्तकर्ताले चिनियाँ बजारमा गर्ने वस्तु निर्यात, सेवा बिक्री, नेपाली फर्म कम्पनी तथा उद्योगले चीनबाट प्राप्त गर्ने ऋण वा प्रत्यक्ष वैदेशिक लगानीबापत प्राप्त रकम सम्बन्धित बैंक वित्रीय संस्थाहरूले युआनमै खाता खोली जम्मा गर्न पाउने भएका छन् ।
यस्तै, चिनियाँलगायत विदेशी नागरिकहरूले नेपालका बैंक वित्तीय संस्थाहरूलाई प्रचलित विनिमय दरमा युआन खरिद गर्न बाटो खुलेको छ । पर्यटकहरूले होटल, ट्राभल एजेन्सी, मनी चेन्जर जस्ता इजाजत प्राप्त संस्थामार्फत खरिद बिक्री गर्न पाउने भएका छन् ।
चिनियाँ मुद्रामा जारी भएका क्रेडिट डेभिट कार्ड प्रयोगबाट नेपाली रुपैयाँमा भुक्तानी दिन सकिने भएको छ । यस्तो रकमको हिसाब मिलान चीनस्थित आफ्नै युआन खाताबाट नेपाली वाणिज्य बैंकले गर्नसक्नेछ । नेपालबाट वर्षेनी चीनमा एमबीबीएस अध्ययनका लागि हजारौं नेपाली विद्यार्थीहरू चीनमा जाने गरेका छन् । राष्ट्र बैंक र चीनको केन्द्रीय बैंकको सहमतिपछि सबैभन्दा बढी फाइदा नेपाली विद्यार्थीहरूलाई पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.