२० प्रतिशत पुनर्बिमा नेपालमै गर्नु पर्ने

  २०७१ पुष ८ गते ११:४०     विकासन्युज

८ पुस । नेपाली बीमा कम्पनीले गर्ने पुनर्बीमा २० प्रतिशत अंश नेपालमै गर्नुपर्ने भएको छ । नेपालमै पुनर्बीमा कम्पनी स्थापना भएकोले सो परिमाणको पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमा नै गर्नुपर्ने बाध्यकारी ब्यवस्था गर्न लागिएको हो ।
अर्थमन्त्री डा. रामशरण महतले नेपाली बीमा कम्पनीले कुल पुनर्बीमाको २० प्रतिशत नेपालमै गर्नुपर्ने ब्यवस्था गर्न लागिएको जानकारी दिए । नेपालमै पुनर्बीमा कम्पनी स्थापना भएकोले नेपाली कम्पनीले अनिवार्य रुपमा नेपालमै पुनर्बीमा गर्नुपर्ने ब्यवस्था गरेर भएपनि केहि हदसम्म पुँजी विदेशिनबाट राक्ने उनको भनाइ छ । नेपाल पुनर्बीमा कम्पनीको उद्घाटन गर्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् ।
‘हिजोको दिनमा नेपालमा पुनर्बीमा कम्पनी नहुदा नेपाली कम्पनीले विदेशी कम्पनीसँग पुनर्बीमा गराउनु पर्ने वाध्यकारी अवस्था थियो’, मन्त्री महतले भने– अब नेपालमै यस्तो कम्पनी स्थापना भएको छ, स्वदेशी कम्पनीमा पुनर्बीमा गराएर केहि मात्रामा भएपनि पुँजी विदेशिनवाट जोगाऔं ।’ अर्थ सचिव सुमन प्रसाद शर्माले कम्पनीलाई ब्यवसायिक योजना लिएर आउन सुझाव दिए ।
नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष शोभाकान्त पौडेलले दक्षिण एशियाका सबै मुलुकमा पुनर्बीमा कम्पनी स्थापना भैसके पनि नेपालमा ढिलाई भएको भन्दै कम्पनी स्थापना मुलुकका लागि गौरवको बिषय भएको बताए । उनले पुनर्बीमा ब्यवसायको माध्यमवाट विदेशी मुद्रा बाहिरिन केहि मात्रामा भएपनि कम हुने र विदेशी मुद्रा आर्जन पनि हुने दावी गरे ।
बीमा समितिका अध्यक्ष डा. फत्तबहादुर केसीले नेपालमा पुनर्बीमा कम्पनी स्थापना हुनु बीमा क्षेत्रकै लागि गौरबको विषय भएको भन्दै ब्यवसाय विस्तारको लागि समितिको तर्फवाट सवै प्रकारको सहयोग प्राप्त हुने प्रतिबद्धता जाहेर गरे । पुनर्बीमाको लागि बर्सेनि करिब २ अर्ब रुपैयाँ विदेशिने गरेको तथ्यांक पेश गर्दै उनले केहि हदसम्म भएपनि सो रकम नेपालमै रोकिने आशा समेत ब्यक्त गरे ।
नेपाल बीमाक संघका अध्यक्ष तथा एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयवहादुर शाहले पुनर्बीमाको लागि विदेशी कम्पनीकै भर पर्नु परेको भन्दै अब नेपाली बिमकहरु हिनताबोधबाट मुक्त भएको धारणा राखे ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश लम्सालले सुरुका दिनमा आन्तरिक ब्यवसायमा हात हाल्ने र मध्य र दीर्घकालमा विदेशी बजार पनि लिन सक्ने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.