खुल्यो पुनर्बीमा कम्पनी, पहिलो बर्ष नै २ अर्बको ब्यापार गर्ने योजना

  २०७१ पुष ७ गते ११:४७     विकासन्युज

७ पुस । नेपालमा पुनर्बीमा कम्पनी सुरु भएको छ । २०६० सालमा स्थापना भएको आकस्मिक बीमा कोषलाई नै पुनर्बीमा कम्पनीमा परिणत गरिएको हो ।
गत २१ कात्तिकमा नेपाल पुनर्बीमा कम्पनी दर्ता भएको हो । आज (सोमवार) अर्थमन्त्री डा. रामशरण महतले उद्घाटन गरेर कम्पनीको औपचारिक सुरुआत गर्दैछन् ।
यस्तो छ कम्पनीको संरचना
विगतको आकस्मिक बीमा कोष नै नेपाल पुनर्बीमा कम्पनीमा रुपान्तरण भएको हो । कोषलाई कम्पनीमा रुपान्तरण गरिएपछि कम्पनीको संरचनामा केहि परिवर्तन भएको छ । कोषको सञ्चालक समिति पाँच सदस्य थियो, कम्पनीको सञ्चालक समितिमा सात जना रहने व्यवस्था छ ।
कम्पनीको सञ्चालक समितिमा दुई जना निर्जीवन बीमा कम्पनीको तर्फबाट, एक जना जीवन बीमा कम्पनीका तर्फबाट, एक जना विज्ञ र अध्यक्ष सहित तीन जना संचालक नेपाल सरकारले मनोनयन गर्ने व्यवस्था छ । कोषमा निर्जीवन बीमा कम्पनीहरुको मात्र लगानी र प्रतिनिधित्व थियो । पुर्नबीमा कम्पनीमा जीबन बीमा कम्पनीहरुलाई पनि भित्र्याईएको छ ।
कम्पनीमा नेपाल सरकारले ४३ प्रतिशत सेयर लगानी गरेको छ । निर्जीबन बीमा कम्पनीहरुले ३९ प्रतिशत जीबन बीमा कम्पनीहरुले १८ प्रतिशत सेयर लगानी गरेका छन् ।
कम्पनीको पूजी
कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । कोषको २०६९÷७० को अन्तिमसम्मको डिडिए गर्दा यसको नेटवर्थ १ अर्ब ९६ करोड रुपैयाँ देखिएको थियो । ७०÷७१ मा पनि ५० करोड नाफा हुन्छ भनेर त्यस्तो गरिएको थियो । कम्पनीको अधिकृत पूजी १० अर्ब रुपैयाँ राखिएको छ ।
कार्यालय सार्ने, कर्मचारी थप्ने
कम्पनीले आफ्नो कार्यालय सवैलाई पायक पर्ने ठाउमा सार्न लागेको छ । अहिले कम्पनीको कार्यालय डिल्लीबजारमा छ । ‘कम्पनीको कार्यालय यहाँवाट सारेर सवैलाई पायक पर्ने ठाउमा लैजाने तयारी भैरहेको छ’, कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश लम्साल भन्छन् । यस्तै अहिले १०÷१२ जना मात्रै कर्मचारी भएकोमा आवश्यकता अनुसार कर्मचारी थप गर्ने लम्सालको भनाइ छ ।
विदेशी साझेदार पनि आउदै
नेपाल पुनर्बीमा कम्पनीमा विदेशी पुनर्बीमा कम्पनीले साझेदार बन्न चासो देखाएका छन् । बीमा समिति स्रोतका अनुसार भारतको प्रतिष्ठित पुनर्बीमा कम्पनी जिआइसी इन्डियाले खास चासो देखाएको समितिका अधिकारीको भनाइ छ ।
यस्तै कम्पनीको प्रबन्ध पत्र नियमावलीमा विदेशी कम्पनीसँग पनि साझेदारी गर्न सकिने बाटो खुला गरिएको छ । तर अहिल्यै त्यस्तो तयारी गरिसकेको अवस्था भने छैन ।
२० प्रतिशत बजार हिस्सा लिने दाबी
नेपाल पुनर्बीमा कम्पनीले नेपाली पुनर्बीमा बजारको करिब २० प्रतिशत हिस्सा लिन सकिने आकलन गरेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत लम्साल भन्छन– नेपालमा अहिललेसम्म पुर्नबीमा कम्पनी थिएन । सवै कम्पनीले विदेशी कम्पनीसँग पुर्नबीमा गर्थे । सुरुका दिनमा पुर्नबीमा वापत बिदेशीने पुर्नबीमा प्रिमियम रकमको १५÷२० प्रतिशतसम्म रोक्ने र पछि सबै रोक्ने हाम्रो योजना हो । यो साल दुई अर्ब रोक्न सकियो भने अर्काे बर्ष २ अर्ब ५० करोड रोक्न सकिन्छ । हाम्रो दीर्घकालिन सोच भनेको पुर्नबीमा मार्फत विदेशिने पुरै रकम रोक्ने र विदेशी रकम पनि तान्ने हो । यसका तत्कालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाउनुपर्ने हुन्छ ।’
सेयरधनी नै ग्राहक
पुनर्बीमा कम्पनीको विषेशता भनेको यसका सेयरधनी र ग्राहक एकै हुन् । कम्पनीमा सवै नेपाली बीमा कम्पनीको गरी ५७ प्रतिशत सेयर लगानी छ । यसमध्ये जीबन बीमा कम्पनीको १८ प्रतिशत र निर्जीबन बीमा कम्पनीको ३९ प्रतिशत सेयर लगानी छ । सवै बीमा कम्पनीले अनिवार्य रुपमा पुनर्बीमा गराउनु पर्ने भएकोले नेपाल पुनर्बीमा कम्पनीको सेयरधनी र ग्राहक एउटै भएका छन् ।
विदेशसम्म ब्यवसाय विस्तार गर्ने योजना
कम्पनीले तीन प्रकारको योजना बनाएको छ । पहिलो दुई बर्षमा अल्पकालिन योजनासहित आन्तरिक बजार आफ्नो हातमा पार्ने रहेको छ । दोस्रो मध्यकालिन योजना तीन बर्षको बनाइएको छ । त्यसमा सार्क राष्ट्र तथा एसियाभर बजार विस्तार गर्ने । अनि तेस्रो तथा दीर्घकालिन चरणमा हामी विश्व बजारमा पुग्ने कम्पनीले योजना बनाउदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.