बेस्ट ब्रेन पाउन तलव, पारदर्शिता, संस्थागत विकास जरुरी

  २०७१ मंसिर २६ गते १३:०१     विकासन्युज

नेपाल बीमक संघको अध्यक्ष निर्वाचित हुनुभएको छ । संघलाई कसरी अगाडि बढाउने योजना बनाउनु भएको छ ?

नेपाल बीमक संघ केही समयदेखि जे भूमिका खेल्नुपर्ने थियो, त्यो खेल्न सकेको थिएन । विभिन्न कारण कार्यसमितिमा अपूर्ण थियो । संघको वार्षिक साधारण सभासमेत नियमित हुन सकेन । चार वर्षपछि साधारणसभा भयो । निर्विरोध रुपमा पूर्ण कार्यसमिति चयन भएको छ । सबैले सहयोग गरेका छन् । लक्षण राम्रै देखिएको छ । यद्यपी हामीबीच मतभेदहरू छन्, हुन्छन् नै । तिनलाई छलफलबाट टुंग्याउने प्रयास गर्नेछौं ।
विगतमा सुषुप्त रहेको बीमक संघलाई सशक्त बनाउनुपर्ने अवस्था छ । बीमक संघ कता छ भनेर खोज्नुपर्ने अवस्था थियो । यसलाई संस्थगत गरेर लैजाने प्रयास भएको छ । भर्खरै थापाथलीस्थित ब्लुबर्ड मलमा कार्यालय खोलेका छौं । अब आफ्नै कार्यालय, आफ्नै कर्मचारी र अस्तित्व भयो । बीमक संघका सदस्यहरू कुनै न कुनै कम्पनीमा प्रमुख रूपमा काम गर्छन्, संघको अजेण्डामा काम गर्न धेरै लामो समय दिन सक्दैनन् । अब संघका मुद्दाहरूलाई सहज बनाउन कार्यालय सचिवको व्यवस्था गरेका छौं ।
बीमक संघमा एक जना उपाध्यक्ष जीवन बीमा कम्पनीको तर्फबाट र एक जना उपाध्यक्ष, निर्जीवन बीमा कम्पनीको तर्फबाट प्रतिनिधित्व छ । जीवन बीमा वा निर्जीवन बीमा क्षेत्रको समस्या समाधानको पहल सम्बन्धित क्षेत्रका उपाध्यक्षको नेतृत्वमा गरिनेछ ।
हामी तत्काल बीमा क्षेत्रसँग सरोकार राख्ने विभिन्न संस्थासँग सहकार्य थाल्नेछौं । सार्क क्षेत्रका बीमक संघसँग सहकार्य गर्न गईरहेका छौं । बीमाको बारेमा चेतना बढाउनेतर्फ सामूहिक पहल जरुरी छ । जनशक्ति क्षमता बढाउन तालिम सञ्चालन गर्ने योजना छ । समग्रमा बीमा बजारलाई व्यवस्थित धेरै काम गर्नुपर्ने छ ।
बीमक संघले यी काम गर्न स्रोत साधन कहाँबाट आउँछ ?????????????????????????????
स्रोत साधान छैन । सदस्यता शुल्कबाहेक अहिले हामीसँग अरु आम्दानीको स्रोत छैन । बीमा तालिम कार्यक्रम सञ्चालन गरेर केही रकम संकलन हुन सक्छ ।
तालिम सञ्चालन गर्ने योजना कस्तो छ ? बैंकर्स संघले नेशनल बैकिङ इन्टिच्यूट चलाए जस्तै स्थायी संस्था खडा गर्ने कि अरु कुनै माध्यम हुनसक्छ ?
हामीले तालिम दिन यही नै काम गर्छांै भनेर टुंगो लगाइसकेका छैनौं । त्यसका लागि एउटा समिति गठन गरेका छौं, त्यसकै सुझावका आधारमा आगामी दिनमा थप योेजना बन्छ । यसका लागि विभिन्न संघ संस्थासँग पनि सहकार्य हुन सक्छ । बीमा समितिसँग सहकार्य हुन सक्छ । म्यानेजमेन्ट एसोसियन, स्टाफ कलेज, नेपाल बैंकर्स संघसँग पनि मिलेर काम गर्न सकिन्छ ।
बीमा सम्बन्धी जनचेतना बढाउनुपर्नेमा सबैले जोड दिन्छन् । यसतर्फ काम गर्न कुनै ठोस योजना बनाउनुभएको छ ?
बीमाबारे जनचेतना बढाउन बीमा समितिले नै सघाउनुपर्छ । समितिले अगुवाइ गरेपछि सबैको सहभागिता पनि रहन्छ र त्यो ऊजाशील पनि हुन्छ । इन्स्योरेन्स प्रोडक्टहरूको प्रचार प्रसारका लागि बीमा समितिसँग सहकार्यको विकल्प छैन ।
बीमा कम्पनीहरूको साझा संस्था भएकाले जनचेतना बढाउने काममा कम्पनी स्वयंलाई दायित्वबोध गराउन संघले प्रयास गर्छ । सबै कम्पनीको साझा कोष बनाएर काम गर्न सक्छौं । केही समयअघिदेखि १७ वटै निर्जीवन बीमा कम्पनीहरूले केही रकम उठाएर कृषि बीमाको चेतना जगाउने अभियान सुरु गरेका छन् । त्यसमा बीमा समितिले पनि उपसमिति गठन गरेर काम अघि बढाउँदै छ । बीमासम्बन्धी तालिमले पनि जनचेतना वृद्धिमा धेरै सहयोग गर्छ । यस्तो तालिम सकेसम्म धेरै गर्न जरुरी छ ।
नीतिगत सुधारको आवश्यकता कहाँ कहाँ देख्नु हुन्छ ?
सुधार भनेको सापेक्ष कुरा हुन् । हिजो ठिक देखिएको कुरा आज गलत हुन सक्छन् । आज सही देखिएको कुरा भोलि गलत पनि हुन सक्छ । बीमा क्षेत्रका नीतिहरूलाई सापेक्ष गरिनुपर्छ र गतिशील बनाइनुपर्छ ।
राजनीतिक संक्रमणको असर बीमा क्षेत्रमा पनि परेको छ । बीमा सम्वन्धि कानुन निर्माण तथा संशोधन प्रक्रियामा बीमा समितिको प्रयास असफल भईराखेको छ । यसमा संघको भूमिका के हुन सक्छ ?
जुनसुकै देशमा पनि राजनीति शीर्ष स्थानमा हुन्छ, त्यो नेपालमा पनि छ । राजनीतिले प्रभाव नपारेको जीवनको कुनै पनि क्षेत्र छैन । त्यसैले आर्थिक क्षेत्रलाई, बीमा क्षेत्रलाई प्रभाव नपर्ने कुरै भएन । सानोतिनो प्रभावलाई चिरेर अघि बढ्ने अठोट राख्नुपर्छ । केही संस्थागत सुधार र ऐन संशोधनका कुरा रोकिएको छ । अब चाँडै यो संक्रमण र अनिश्चितता हट्छ भन्नेमा आशावादी छौं । सुनौलो बिहानी आउला र देशले गति लेला भन्ने बीमा व्यवसायीको आशा छ । त्यतिञ्जेल हामीले पनि आफ्नो व्यावसायिक धर्म निभाउनुपर्छ । राजनीतिक निकासका लागि त्यसले पनि सहयोग गर्छ ।
व्यक्तिगत राजनीतिक आस्था फरक भएकै कारण बीमा समिति र अर्थमन्त्रालयबीच संस्थागत सम्बन्ध विग्रेको अवस्था छ ? यसमा बीमक संघको कुनै नयाँ भूमिका खेल्न सक्छ ?
यो हामीभन्दा माथिको कुरा भयो । यो हामीलाई जानकारी हुने विषय पनि होइन ।
बीमक संघको सक्रियताको अभावमा विगतमा बीमा समितिले एक पक्षीय निर्णय गरेको र त्यसले बीमा बजारमा केही समस्या पनि उत्पन्न भएको आवाज उठिरेहको छ, अब बीमा समिति र बीमक संघबीचको सम्बन्ध कस्तो हुने छ ?????????????????????????????
विगतमा बीमक संघको कार्यसमिति पूर्ण नभएकाले बीमा समितिसँग सम्वाद कम भयो । कम्पनीहरु एक्ला एक्लै गएर आफ्ना विचार बीमा समितिमा राख्दै आएका थिए । तर सम्बन्ध नै नराम्रो थियो भन्न मिल्दैन । अब एक एक होइन, बीमा कम्पनीहरुको सामूहिक आवाज बीमा समितिमा जान्छ । एकता नभई बल प्राप्त हुन्न र बलबिना सफल भइन्न । विगतमा बीमक संघको एकता नभएकाले त्यस्तो पक्कै भएको हो । हामीले जे गर्न सक्नुपथ्र्याे, त्यो गर्न सकेनौं । अब सामूहिक आवाज उठाउँछौं । बीमा समितिसँग सम्बन्ध राम्रो बनाउँछौं र सहकार्य गर्दै जान्छौं । बीमक संघको भूमिकालाई सशक्त बनाउन बीमा समितिले सहयोग आवश्यक छ ।
पुनर्वीमा कम्पनीले बीमा क्षेत्रमा के के फाइदा गर्छ ?
बीमा क्षेत्रमा पुनर्बीमा कम्पनी अत्यावश्यक थियो । यो दर्ता भइसकेको छ । अब चाँडै सञ्चालनमा आउँछ । यो धेरै पहिले नै आवश्यक थियो । आकस्मिक बीमा कोषको काम अब नेपाल पुनर्बीमा कम्पनीले हेर्छ । यसले बीमा व्यवसायमा निकै ठूलो सघाउ पु¥याउँछ भन्ने लागेको छ । देशमा बीमा गर्ने, तर पुनर्बीमा गर्ने कम्पनी नहुँदा ठूलो समस्या थियो । पुनर्बीमा कम्पनी नहुँदा देशमा राष्ट्र बैंक नै नभएको जस्तो अवस्था थियो । स्वदेशी पुनर्बीमा कम्पनीले जस्तो विदेशी कम्पनीले हाम्रो समस्या बुझ्दैनन् । अहिले पुनर्बीमा कम्पनी स्थापना भएपछि त्यसले हामीलाई फाइदा नै हुन्छ ।
बीमा कम्पनीहरूको साधारणसभा पुस मसान्तभन्दा अघि गर्दैनन्, किन होला ?
विगत दुई वर्षदेखि बीमा क्षेत्रमा धेरै प्रगति र सुधार भएको छ । एकाधबाहेक अधिकांशले त्रैमासिक रिपोर्ट सार्वजनिक गरेका छन् । साधारणसभा भने केहिले अझै पनि समयमै गर्न सकेका छैनन् । अझै पनि यो क्षेत्रले प्रविधिलाई राम्रोसँग सदुपयोग गर्न सकेको छैन । दुई वर्षदेखि धेरै कम्पनीले आफ्नो ब्यालेन्स सिट समयमै बीमा समितिमा पठाउने गरेका छन् । यो सकारात्मक संकेत हो । आगामी दिनमा थप सुधार हुन्छ । ऐनले तोकेको नियमअनुसार अघि बढ्ने हो । ऐनअनुसार नचल्ने संस्थालाई बीमा समितिले कारबाही गर्छ ।
उच्च क्षमतावान व्यक्तिले काम गर्ने क्षेत्र छनौट गर्दा बीमा क्षेत्र पर्दैन । उनीहरुलाई यो क्षेत्रमा आकर्षित गर्न के गर्नुपर्छ ?
मान्छेले किन काम गर्छ ? कसैका लागि कम्पनीको संस्थागत अवस्था कस्तो छ भन्ने होला । कसैका लागि तलब होला । कसैका लागि क्यारियर महत्वपूर्ण होला । कोही पारदर्शितालाई हेरेर काम गर्लान् । त्यसकारण समष्टिमा धेरै कुराहरू पर्छन् ।
बीमा क्षेत्रका सबै पक्ष मिल्यौं भने राम्रो काम गर्न सकिन्छ । बीमा कम्पनीहरू पनि हिजोको ढर्रामा अघि बढ्न सक्दैनन् । अरु क्षेत्रका दक्ष मान्छेलाई यो क्षेत्रमा ल्याउन बीमक कम्पनी र बीमा समितिले मिलेर काम गर्नुपर्छ । श्रम चलायमान हुन्छ, नेपालमा पाइएन भने विदेशमा पाइन्छ । यो क्षेत्रमा दक्ष मान्छेको आकर्षण बढाउन बीमक कम्पनी र बीमा समिति मिलेर सँगै अघि बढ्नुको विकल्प छैन । नत्र बेस्ट ब्रेन पाउन गाह्रो पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.