शेरधन राईले भने, लोकमानलाई बोलाएर हिरो बन्न खोजे

  २०७१ मंसिर १८ गते १६:१४     विकासन्युज

१८ मंसिर । संसद्को सुशासन तथा अनुगमन समितिका सभापति शेरधन राईले संसदीय समितिहरूले अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई स्पष्टीकरणका लागि बोलाएर आफू हिरो बन्न खोजेको आरोप लगाएका छन् । अनुशासन समिति नै संसद्का अन्य समितिविरुद्ध उत्रिएपछि अहिले समस्या उत्पन्न भएको छ ।
बिहीबार रिपोर्टर्स क्लबको साक्षात्कारमा सभापति राईले समितिहरुबीचमै क्षेत्राधिकारलाई लिएर विवाद देखिएको भन्दै यसबारेमा सभामुख सुवासचन्द्र नेम्बाङले तत्काल संसदीय समितिका सभापतिहरुको बैठक बोलाएर क्षेत्राधिकारका सम्बन्धमा प्रस्ट पार्न माग पनि गरे ।
संसद्को कृषि तथा जलस्रोत समितिले पुनः अख्तियार प्रमुख कार्कीलाई बयानका लागि पत्र काटेपछि अहिले यसले ठूलो चर्चा पाएको छ । सो समितिका सभापति गगन थापा छन् । यसअघि कार्कीले अर्थ समितिमा बयान दिएका थिए । कार्कीले आफूल अनुशासन समितिबाहेक अन्य समितिमा उपस्थिति नहुने बताएका छन् । बारम्बार बोलाउँदा संसद्को अपमान गरेको ठहर हुने हो कि भन्ने डर कार्कीमा पनि देखिएको छ । त्यसैले उनले अनुशासन समितिलाई प्रयोग गरिरहेको सभासद्हरू बताउँछन् ।
कार्यक्रममा राईले आफ्नो मर्यादालाई ख्याल गरेर समितिहरू अघि बढ्नुपर्ने र अख्तियारले पनि संसद्को मर्यादा राख्नुपर्ने भन्दै उसले आफूलाई मन लागेको समितिमा जाने र नलागेको समितिमा जान्न भन्न नमिल्ने धारणा राखे । उनले भने, ‘‘संवैधानिक अंगका प्रमुखहरूलाई लगातार बोलाउँदा आयोगका कामकारबाहीहरू प्रभावित हुन्छन्, त्यसमा पनि हामीले ख्याल गर्नुपर्छ ।’’ राईले अख्तियारलाई प्रभाकारी, जवाफदेही, उत्तरदायी र कर्तव्यनिष्ठ बनाउन संसदीय समितिले सहयोग गर्नुपर्ने बताउँदै अख्तियारले सिमा नाघेमा उसलाई पनि समितिले नियन्त्रण गर्नसक्ने स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.