नगरपालिकामा सोलार जडान गर्दा ५० प्रतिशत अनुदान पाइने

  २०७१ मंसिर १६ गते ९:५३     विकासन्युज

१६ मंसिर । देशभरीका नगरपालिकाले सार्वजनिक स्थलमा सोलार बत्ती जडान गर्दा लाग्ने खर्चको ५० प्रतिशत अनुदान पाउने भएका छन् । १८ औं सार्क सम्मेलनको समयमा काठमाडौंका सडकमा जडान गरिएका सोलार बत्तीले राम्रो नतिजा दिए पछि सरकारले यस्तो विकल्प अघि सारेको हो ।
सोलार बत्ती जडान गर्दा दिइने अनुदान सम्बन्धि कार्यविधि तयार हुदै गरेको अर्थमन्त्रालयका प्रवक्त कृष्णप्रसाद देबकोटाले जानकारी दिए । अर्थमन्त्रालयले गत आइतवार विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल विद्युत प्राधिकरण, बैकल्पिक उर्जा प्रवर्धन केन्द्र जस्ता सरोकारवाला निकायका अधिकारीलाई बोलाएर छलफल पनि गरेको थियो ।

काठमाडौंको बबरमहलमा रातीको समयमा सोलार बत्तीले झिलिमिली देखिएको सडक ।

अर्थमन्त्री डा. रामशरण महतले गत आईवार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पनि नगरपालिकाले सोलार जडान गर्न चाहेमा सरकारले ५० प्रतिशत अनुदान दिने बताएका थिए । जलविद्युतले घरायसी र ब्यवसायिक माग धान्न नसकिरहेको समयमा सोलार बत्तीको प्रयोग गरेर अध्यारो हटाउन सकिने उनको भनाइ थियो ।
‘सोलार बत्तीले काठमाडौंका सडक उज्याला भएका छन’,– मन्त्री महतले भने– देशका अन्य नगरपालिकाले पनि सोलार जडान गर्ने प्रश्ताव ल्याए सरकारले लागतको ५० प्रतिशत अनुदान दिन्छ । बाँकी ५० प्रतिशत रकमको लागि नगरपालिकाले आफै र जनसहभागितामा जुटाउन उनले सुझाए ।
सरकारले पहिलो चरणमा पर्यटकीय क्षेत्र रहेका र ठूला नगरपालिकामा मात्रै यस्तो अनुदानको ब्यवस्था गर्न लागेको छ । सवै नगरपालिकामा यस्तो अनुदान दिन तत्काल नसकिने भन्दै सरोकारवाला निकायका प्रतिनिधि सहभागी बैठकले छानिएका क्षेत्रका नगरपालिकालाई मात्रै अनुदान दिने ब्यवस्था गर्न लागेको हो ।
‘अहिले नै सवै नगरपालिकालाई यस्तो अनुदान दिन सकिदैन कि भन्ने कुरा आएको छ’,– अर्थमन्त्रालयका प्रवक्ता कृष्णप्रसाद देबकोटाले भने– पहिलो चरणमा पर्यटकीय क्षेत्र भएका र ठूला नगरपालिकालाई भने अनुदान दिने ब्यवस्था गरिदैछ । केहि नगरपालिकाहरुमा नेपाल विद्युत प्राधिकरणले नै सोलार जडान गर्ने तयारी गरेको उनले जानकारी दिए । मूल सडकमा जडान हुने सोलारको अनुदान सरकारले दिने र भित्री सडकमा जडान हुने सोलारको खर्च समुदाय आफैले गर्नुपर्ने देबकोटाको भनाइ छ ।
जलविद्युत उत्पादनले घरायसी र ब्यवसायिक माग पनि धान्न नसकेको समयमा सार्वजनिक स्थल र सडकमा सोलार बत्तीलाई विकल्पको रुपमा प्रयोग गर्न थालिएको हो । १८ औं सार्क शिखर सम्मेलनको समयमा काठमाडौं उपत्यकाका सडकमा जडान गरिएका सोलार बत्तीले राम्रो नतिजा दिएपछि सरकारले यस्तो विकल्प रोजेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.