कार्यविधि नबन्दा दुई रंगको सिलिन्डर कार्यान्वयन अन्योलमा

  २०७१ मंसिर १० गते १३:०८     विकासन्युज

१० मंसिर । नेपाल आयल निगमले कार्यविधिको टुंगो लगाउन नसक्दा दुई रंगको सिलिन्डर कार्यान्वयन अन्योलमा परेको छ ।
निगमले दुई रंगको सिलिन्डर प्रयोग र मूल्य समायोजनको विधि टुंग्याउन नसक्दा खाना पकाउने एलपी ग्यासमा भइरहेको भारी नोक्सानी घटाउने दीर्घकालीन योजनाका रूपमा अघि सारिएको कार्यक्रम अन्योलमा परेको हो ।
निगमले तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री शंकरप्रसाद कोइरालाको उपयस्थितिमा २०७० असार १ गते दुई रंगको सिलिन्डर सार्वजनिक गरेको थियो । निगमले घरायसी प्रयोजनका ग्यासमा उपभोक्ता कार्डमार्फत सिधै सहुलियत मूल्यमा ग्यास उपलब्ध गराउने र व्यावसायिक प्रयोजनका ग्यासमा भने परल मूल्य कायम गराउने कार्यबिधी तयार गरेको जनाएको छ ।
उता, बाणिज्य मन्त्रालयका प्रवक्ता दिपक सुवेदीले भने कार्यविधिको अन्तिम टुंगो लाग्न बाँकी नै रहेको बताए । ‘निगमले कार्यविधि टुंगो लगाएको छैन, त्यसैले यसको कार्यान्वयनमा केहि ढिलो हुने देखिन्छ,’ प्रवक्ता सुवेदीले भने ।
तर, निगम प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले भने कार्यविधि तयार भइसकेको दाबी गरे । ‘निगमले कार्यविधि तयार पारिसकेको छ, बोर्ड बैठकबाट पास गरे मन्त्रालयमा पठाउन मात्रै बाँकी छ ।’
उपभोक्ता कार्डमार्फत साविककै मूल्यमा सहुलियतको ग्यास उपभोक्तालाई उपलब्ध गराउने र व्यावसायिक प्रयोजनका ग्यासमा भने परल मूल्य कायम गर्ने तयारी निगमले थालेको थियो । दुई रंगको सिलिन्डर कार्यान्वयनमा आएपछि घरायसी उपभोक्ताले १४ सय ७० रुपैयाँमा ग्यास प्राप्त गर्नेछन् भने व्यावसायिक प्रयोजनका ग्यासमा भने परल मूल्य कायम हुनेछ ।
निगमले करिब चार लाख ग्यास कार्ड प्रमाणीकरण गरिसकेको जनाएको छ । नेपालमा ६० प्रतिशत ग्यास घरायसी प्रयोजन र ४० प्रतिशत व्यावसायिक प्रयोजनमा खपत हुँदै आएको छ । निगमले मासिक १४ झन्डै १४ लाख सिलिन्डर ग्यास खपत हुने गरेको बताउँदै आएको छ । ती मध्ये झन्डै पाँच लाख सिलिन्डर व्यावसायिक प्रयोजनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.