समस्याग्रस्त फाइनान्स कम्पनी पुनः सञ्चालनको सम्भावना कम

  २०७१ कार्तिक २७ गते ११:०४     विकासन्युज

२७ कात्तिक । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका अधिकांश फाइनान्स कम्पनीहरु पुनः स्वाभाविक सञ्चालनमा आउने सम्भावना कम भएको छ । समस्याग्रस्त घोषणा गरिएको लामो समयसम्म पनि वित्तीय अवस्था सुध्रन नसकेको र संस्थाको रकम हिनामिना गर्ने सञ्चालक र उच्च ब्यवस्थापनले त्यस्तो रकम फिर्ता नगरेका कारण उनीहरु खारेजीको संघारमा पुगेका हुन् ।
नेपाल राष्ट्र बैंकले क्यापिटल मर्चेन्ट, वल्र्ड मर्चेन्ट, जनरल, नेपाल सेयर मार्केटस्, कुवेर मर्चेन्ट, हिमालयन र क्रिस्टल फाइनान्सलाई समस्याग्रस्त घोषणा गरेको छ । यसमध्ये हिमालयन र क्रिस्टललाई खारेजी प्रक्रियामा लैजाने नेपाल राष्ट्र बैंक सञ्चालक समितिले निर्णय गरेको छ । समस्याग्रस्त घोषणा गरिएको सम्झना फाइनान्स खारेजीको प्रक्रियामा गइसकेको छ ।
राष्ट्र बैंकले समस्याग्रस्त संस्थाहरुको अवस्थाको विषयमा अध्ययन गर्न बैंकका उपनिर्देशक रेवतीप्रसाद नेपालको संयोजकत्वमा एउटा शाखा नै स्थापना गरेर अध्ययन गरिरहेको छ । सो शाखाले पनि समस्याग्रस्त वित्तीय संस्थाको सुधारको अवस्था कम देखेको छ ।
‘समस्याग्रस्त घोषणा गरिएका वित्तीय संस्थाहरु पुनः स्वाभाविक सञ्चालनमा आउने सम्भावना निकै कम देखिन्छ,’ नेपालले भने– जसले संस्थाको रकम हिनामिना गरेर संस्थालाई यस्तो अवस्थामा पु¥याए उनीहरु मध्ये केहि भागेका, केहि तिर्न नसक्ने भएर बैंकिङ कसुरमा जेल परेका र केहि स्थीर सम्पत्ति विक्री हुन नसक्दा पनि संस्था पुन संचालनमा आउने सम्भावना निकै कम देखिन्छ ।
जनरल फाइनान्स
जनरल फाइनान्सलाई नेपाल राष्ट्र बैंकले २०७० सालमा समस्याग्रस्त घोषणा गरेको हो । सो फाइनान्सलाई समस्याग्रस्त घोषणा गर्दा राष्ट्र बैंकले ‘२०६८ चैत्र मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा स्थलगत निरीक्षण गर्दा उक्त संस्थाले यस बैंकको निर्देशन बमोजिम भाका नाघेको आधारमा कर्जा वर्गीकरण गरी सो अनुसार नोक्सानी व्यवस्था कायम नगरेको कारण सुपरिवेक्षकीय आधारमा रु.१९ करोड ४५ लाख ७ हजार र एकल ग्राहक कर्जा सीमा भन्दा बढी लगानी गरेको रु.५२ लाख २९ हजार कर्जा नोक्सानी व्यवस्थामा थप गर्नुका साथै संचालक सम्बद्ध कर्जा रु.४ करोड १४ लाख ५७ हजार प्राथमिक पुँजीबाट घटाउँदा संस्थाको पुँजीकोष ८.७३ प्रतिशतले ऋणात्मक हुन गएकोमा २०६९ चैत्र मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा अनुगमन निरीक्षण गर्दा त्यस संस्थाको पुँजीकोष क्रमशः विग्रदै गई १६.८३ प्रतिशतले ऋणात्मक भएको हुँदा यस बैंकबाट पुँजीकोष सम्बन्धमा जारी निर्देशनको पालना हुन नसकेको’ उल्लेख गरेको थियो ।
यस्तै संस्थामा आन्तरिक नियन्त्रण प्रणाली र संस्थागत सुशासनको अवस्था कमजोर रहेको, व्यवस्थापन सूचना प्रणाली प्रभावकारी नरहेको, विवेकशील बैंकिङ्ग मान्यताको परिपालना कमजोर रहेको, जोखिम व्यवस्थापन सन्तोषजनक नरहेको तथा यसअघि पटक पटक दिईएका सुधारात्मक निर्देशनहरु संस्थाबाट पालना नभएको स्थितिमा संस्थालाई यथावत संचालन गर्न दिएमा सर्वसाधारणको निक्षेप जोखिममा पर्ने देखिएको, लगानीकर्ताको पुँजी थप क्षय हुने संभावना रहेको तथा वित्तीय प्रणालीमा नकारात्मक सन्देश प्रवाह हुने संभावना रहेकोले संस्थालाई कारवाही गर्ने र समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको थियो ।
राष्ट्र बैंकले जनरल फाइनान्सलाई सुधारको लागि विभिन्न शर्त दिएको भएपनि ती शर्तको पालना हुन सकेको छैन । फाइनान्सका तत्कालिन महाप्रवन्धक राजु श्रेष्ठ र केही संचालकको मिलेमतोमा गुड फर पेमेन्ट चेक दुरुपयोग गरिएको थियो भने कर्जा दुरुपयोग पनि भएको थियो । सो समुहले दुरुपयोग गरेको रकम नतिरेसम्म जनरलको अवस्था सुधार आउने सम्भावना नभएको राष्ट्र बैंकको ठहर छ । उनीहरु दुरुपयोग गरेको रकम तिर्न सक्ने अवस्था नभएको फाइनान्स स्रोतले जानकारी दियो ।
वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स
राष्ट्र बैंकले वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीलाई २०७० वैशाखमा समस्याग्रस्त घोषणा गरेको छ । ६ महिनाका लागि भनेर समस्याग्रस्त घोषणा गरिए पनि सो कम्पनी अझै समस्याग्रस्त नै छ । समस्याग्रस्त घोषणा गर्दा राष्ट्र बैंकले ‘समानुपातिक चुक्ता पँुजी कायम गर्न नसकेको तथा सुपरिवेक्षकीय समायोजन पश्चात थप कर्जा नोक्सानी व्यवस्था कायम गर्दा संस्थाको पँुजीकोष २०६८ चैत्र मसान्तमा ४४.१४ प्रतिशतले ऋणात्मक र २०६९ पौष मसान्तमा ४२.०६ प्रतिशत ऋणात्मक रहेको, यस बैंकबाट जारी निर्देशन अनुसार कर्जा वर्गीकरण एवं नोक्सानी व्यवस्था कायम नगरेको तथा सो सम्बन्धमा गलत विवरण पेश गरेको, एकल ग्राहक कर्जा सीमा नाघेर कर्जा प्रवाह गरेको, कुल कर्जा तथा सापटमा निष्कृय कर्जाको अंश २०६९ पौष मसान्तमा ७५ दशमलब ७६ प्रतिशतको उच्च बिन्दुमा रहेको एवम् कतिपय कर्जा प्रवाह गर्दा कर्जा सुरक्षण वापत लिइने धितो रोक्का एवं दृष्टिबन्धक समेत नगरेकोले संस्था उच्च संचालन जोखिममा रहेको’ उल्लेख गरेको छ ।
यस्तै आन्तरिक नियन्त्रण प्रणाली अत्यन्त कमजोर रहेको, संस्थागत सुशासन कायम हुन नसकेको, पूर्व निरीक्षणका क्रममा देखिएका कैफियतका आधारमा दिएका निर्देशनहरु पालना नभएको, स्थापनाकालदेखि अध्यक्ष रही आएका संस्थाका अध्यक्षले अप्रत्यक्ष रुपमा संस्थाबाटै कर्जा उपयोग गरेको, लामो समयदेखि अनिवार्य नगद मौज्दात एवं बैधानिक तरलता अनुपात कायम नगरेको तथा निर्देशन बमोजिम विपन्न वर्ग कर्जा प्रवाह गर्न नसकेको तथा सो नगरेबापत जरिवाना र हर्जाना रकम जम्मा गर्न नसकेको, तरलता जोखिम उच्च रहेको, स्रोत परिचालनमा कुल कर्जा सापटको अंश २०६९ पौष मसान्तमा १७६ दशमलब ९ प्रतिशत रहेको, संस्थाको वित्तीय अवस्था ‘इनसल्भेन्सी’को अवस्थामा रहेको, समयमै आवश्यक कारवाही नगरेमा वित्तीय प्रणालीमै नकारात्मक सन्देश प्रवाह हुने संभावना रहेको तथा संस्थामा अविछिन्न उत्तराधिकारको संभावना नदेखिएको परिप्रेक्षमा उक्त संस्थालाई यथावत संचालन गर्न दिएमा सर्वसाधारणको निक्षेप जोखिममा पर्ने, लगानीकर्ताको पुँजी थप क्षय हुने देखिएको भन्दै राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी संस्थाको क्रियाकलाप सिमित गरेको थियो । वल्र्ड मर्चेन्टलाई पनि छ महिनाको लागि समस्याग्रस्त घोषणा गरिएको भएपनि सो संस्था अझै समस्यामा नै छ । संस्थाको अधिकांश कर्जा घरजग्गा ब्यवसायी सुधिर बस्नेतले चलाएको कारण बस्नेतको अवस्था राम्रो भए मात्रै सो संस्था बाच्न सक्ने राष्ट्र बैंकका अधिकारीहरु बताउछन् । बस्नेत ओरेन्टल सहकारी र विभिन्न हाउजिङ्ग कम्पनीमा सर्वसाधारणले जम्मा पारेको रकम हिनामिनाको आरोपमा फरार रहेका छन् ।
क्यापिटल मर्चेन्ट बैकिङ एन्ड फाइनान्स
राष्ट्र बैंकले विभिन्न शर्त पूरा गर्नको लागि ६ महिनाको समय दिएर २०६९ सालमा नै समस्याग्रस्त घोषणा गरेको हो । सो फाइनान्सलाई समस्याग्रस्त घोषणा गर्दा नेपाल राष्ट्र बैंकले ‘२०६८ आषाढ मसान्तको वित्तीय विवरणको आधारमा गरेको मूल्यांकन प्रतिवेदनबाट निष्कृय कर्जा ७३ दशमलब ३१ प्रतिशत, नेटवर्थ रु. १ अर्ब ५३ करोडले ऋणात्मक, पुँजीकोष अनुपात करिव ४२.२० प्रतिशतले ऋणात्मक तथा कुल संचित नोक्सानी रु.२ अर्ब ४६ करोड देखिएको र उपरोक्त वित्तीय परिसूचकहरु क्रमशः कमजोर हुँदै गई २०६९ आश्विन मसान्तमा पुँजीकोष ४३.६२ प्रतिशतले ऋणात्मक, निष्कृय कर्जा ९८.२१ प्रतिशत तथा नेटवर्थ रु. १ अर्ब ४१ करोडले ऋणात्मक भएको, विगतमा ठूलो परिमाणको कर्जा अपचलन भएको र कर्जाको गुणस्तर अत्यन्त कमजोर भएको कारण संस्थामा खासै सुधार हुन सक्ने संभावना नदेखिएको स्थितिमा संस्थालाई प्रचलित ऐन, कानून र नियमनकारी व्यवस्था बमोजिम कारवाही नगरेमा संस्थाको वित्तीय स्वास्थ्य अझ बढी जीर्ण हुने, निक्षेपकर्ता र लगानीकर्ताको हितमा थप प्रतिकूल असर पर्ने तथा उक्त संस्थाको इनसल्भेन्सीका कारणले वित्तीय क्षेत्रमै प्रणालीगत जोखिम बढ्दै जाने परिस्थिति सृजना भएको’ उल्लेख गरेको छ ।
सो फाइनान्सको अधिकांश कर्जा पवनकुमार कार्कीले दुरुपयोग गरेको र उनी अमेरिका भागीसकेको कारण कर्जा असुल हुन नसक्ने अवस्था रहेको राष्ट्र बैंकका अधिकारीको भनाइ छ । कार्कीले कर्जा तिरे संस्था बाँच्न सक्ने र नतिरे खारेजी प्रक्रियामा जाने निश्चित भएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।
कुवेर मर्चेन्ट फाइनान्स कम्पनी
राष्ट्र बैंकले कुवेर मर्चेन्ट फाइनान्सलाई २०६९ सालमै समस्याग्रस्त घोषणा गरेको हो । छ महिनामा सुधार गर्नुपर्ने विभिन्न शर्त दिएर समस्याग्रस्त घोषणा गरिएको भएपनि कुबेर अझै समस्यामा नै छ । राष्ट्र बैंकले कुबेरलाई समस्याग्रस्त घोषणा गर्दा ‘संस्थाले तरलता समस्याको कारण निर्देशन बमोजिमको अनिवार्य मौज्दात अनुपात र वैधानिक तरलता अनुपात कायम गर्न नसकेको, कतिपय संस्थाको भुक्तानी अवधि समाप्त भएका मुद्दति निक्षेपको रकम समेत भुक्तानी गर्न नसकी चरम तरलता संकटबाट गुज्रिरहेकोे, संस्थामा निरीक्षण गरिएका कर्जाहरुको अधिकांश धितो कमसल रहेको, संस्थाका ऋणी वास्तविक ऋणीहरु हुन भनी निजहरुको आर्थिक लगायत अन्य हैसियतले प्रमाणित गर्नसक्ने आधार नदेखिएको, संस्थाको करिब ४० प्रतिशत कर्जा एउटै समूहमा गएको हुनसक्ने देखिएको’ उल्लेख गरेको छ ।
यस्तै निर्देशन बमोजिमको न्यूनतम पूँजीकोष कायम गर्न नसकेको, विगतमा औल्याईएका कैफियतहरु सुधार हुनुपर्नेमा अध्यावधि कायम रहेको, संस्था सुधार तर्फ उन्मुख हुन नसकी वित्तीय रुपमा कमजोर हुँदै गई सम्पत्तिको गुणस्तर खस्कँदै गएको साथै, सुपरिवेक्षकीय समायोजन पश्चात् संचालक सम्बद्ध व्यक्ति तथा संस्थाहरुलाई प्रवाहित कर्जा रु.२० करोड ७२ लाख ३४ हजार सुपरिवेक्षकीय आधारमा प्राथमिक पूँजीबाट घटाउँदा संस्थाको पूँजीकोष रु.३९ करोड ६५लाख १७ हजार (२० प्रतिशत) ले ऋणात्मक हुन गएको, संस्थाको वित्तीय स्थिति थप नाजुक हँुदै गई संस्था, लगानीकर्ता, सरोकारवाला तथा निक्षेपकर्ताहरु थप जोखिममा पर्नसक्ने अवस्था विद्यमान रहेको र यस बैंकबाट सोधिएको स्पष्टीकरण सम्बन्धमा संस्थाले पेश गरेको स्पष्टिकरणको जवाफ समेत सन्तोषजनक एवं पूर्ण नदेखिएकोले कुवेरलाई समस्याग्रस्त घोषणा गरिएको राष्ट्र बैंकको भनाइ छ । कुबेरको पनि अधिकांश कर्जा घरजग्गा ब्यवसायी सुधिर बस्नेतले नै चलाएका छन् । यो संस्थाको भविष्य पनि बस्नेतको भविष्यसँग जोडिएको छ ।
नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स
नेपाल सेयर मार्केटस एण्ड फाइनान्सलाई पनि २०६९ सालमै समस्याग्रस्त घोषणा गरिएको छ । सो फाइनान्सलाई समस्याग्रस्त घोषणा गर्दा राष्ट्र बैंकले ‘संस्थाको कुल संचित नोक्सानी रु.३ अर्ब ७० करोड ५० लाख ५३ हजार रहेको, संस्थाको नेटवर्थ रु. १ अर्ब ५९ करोडले ऋणात्मक रहेको, खराब कर्जा ५६ दशमलब ९८ प्रतिशत रहेको, पँुजीकोष अनुपात ५९ दशमलब १४ प्रतिशतले ऋणात्मक हुने देखिएको, कुल निक्षेपमा रु.७८ करोड लेखाङ्ककन नभएको निक्षेप रहेको’ जानकारी दिएको थियो ।
यस्तै संस्थाको २०६८ कार्तिक मसान्तको अपरिष्कृत वित्तीय विवरणबाट पनि संस्थाको संचित नोक्सानी रु.२ अर्ब २७ करोड २१ लाख ४९ हजार रहेको र पँुजीकोष ५.७३ प्रतिशतले ऋणात्मक रहेकोे पाइनुको साथै संस्थाको वित्तीय अवस्था थप कमजोर भएको देखिएको राष्ट्र बैंकको भनाइ छ । यस प्रकार संस्थाको पँुजीकोष ऋणात्मक हुनुको साथै वित्तीय स्थिति थप कमजोर हुदै गएकोले सो संस्थालाई समस्याग्रस्त घोषणा गरिएको थियो । संस्थाको रकम पूर्वप्रवन्ध संचालक योगेन्द्र श्रेष्ठले अपचलन गरेको कारण श्रेष्ठले कर्जा तिरे मात्रै संस्था बच्न सक्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.