अस्पताल क्षेत्रमा ३ अर्ब लगानी, ११ अर्बको प्रतिफल

  २०७१ भदौ २७ गते ११:०९     विकासन्युज

२७ भदौ । अस्पताल क्षेत्रले लगानीको दोब्बरभन्दा पनि बढी प्रतिफल प्रदान गरेको छ । केन्द्रीय तथ्यांक विभागले गरेको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।
विभागले सन् २०१३ मा गरेको निजी अस्पतालहरुको अध्ययन प्रतिवेदनले अस्पताल क्षेत्रको प्रतिफल दोब्बरभन्दा बढी रहेको देखाएको छ । नेपालका निजी अस्पतालहरुमा ३ अर्ब ३९ करोड ६८ लाख रुपैयाँको लगानीले ११ अर्ब ३९ करोड १२ लाख रुपैयाँ आम्दानी भएको पाइएको छ । यस्तो लगानीवाट ७ अर्ब ९९ करोड ४३ लाख रुपैयाँ मूल्य अभिबृद्धि भएको पाइएको हो ।
नेपालमा अहिले निजी सामुदायिक र अन्य गरी ३ सय १ अस्पताल रहेका छन् । यसमध्ये निजी अस्पतालको संख्या २ सय १४, सामुदायिक अस्पतालको संख्या ५४ र अन्यको ३३ छ । सरकारी वाहेकका अस्पतालहरुमा काठमाडौं उपत्यकामा ६७ र उपत्यका वाहिर २ सय ३४ अस्पताल छन् ।
यी सबै अस्पतालमा गरी १९ हजार ८ सय ५६ बेड रहेको तथ्यांकले देखाएको छ । यसमध्ये पूर्वाञ्चल विकास क्षेत्रमा २ हजार ६ सय ६३, मध्यमाञ्चलमा १० हजार ५ सय ५४, पश्चिमाञ्चलमा ४ हजार ७ सय ४१, मध्यपश्चिमाञ्चलमा १ हजार ५ सय ३२ र सुदुरपश्चिमाञ्चलमा ३ सय ६६ बेड भएका अस्पतालहरु रहेका छन् ।
यस्तै भौगोलिक रुपमा हिमाली क्षेत्रमा १ सय ७५ बेड, पहाडी क्षेत्रमा १० हजार ४ सय २१ र तराइ क्षेत्रमा ९ हजार ४ सय २० बेड छन् । काठमाडौं उपत्यकामा ६ हजार २४ र उपत्यका वाहिर १३ हजार ८ सय ३२ बेड छन् । यसमध्ये निजी अस्पतालको बेड संख्या १५ हजार २ सय ३, सामुदायिक अस्पतालको २ हजार ५ सय ७७ र अन्य अस्पतालको २ हजार ९९ रहेका छन् ।
जनसंख्या तराइमा बढी भएपनि निजी अस्पतालहरुको बढी उपस्थिति पहाडमा देखिएका छ । प्रतिवेदनले पहाडी क्षेत्रमा १ सय ४८, हिमाली क्षेत्रमा ९ र तराइमा १ सय ४४ अस्पताल भएको तथ्यांक सार्वजनिक गरेको छ ।
तथ्यांकले २०६२÷६३ को जनआन्दोलन पछि निजी अस्पतालको संख्या उल्लेख्य रुपमा बढेको देखाएको छ । सो समयदेखि हालसम्म १ सय ९० निजी अस्पताल खुलेका छन् । यस्तै विसं २०४७ देखि २०६२ सम्ममा ९५ अस्पताल खुलेका थिए । त्यो भन्दा अगाडि नेपालमा अस्पतालको संख्या १६ थियो । अहिले पूर्वाञ्चल विकास क्षेत्रमा ६८, मध्यमाञ्चलमा १ सय ४३, पश्चिमाञ्चलमा ५९, मध्यपश्चिमाञ्चलमा २१ र सुदरपश्चिममा १० अस्पताल छन् ।
निजी अस्पतालहरुमा २४ हजार ३१ जना आवद्ध भएका छन् । यसमध्ये संचालक वा सक्रिय साझेदारको संख्या १ हजार ४ सय ५०, प्राविधिक १५ हजार ८ सय ९० र प्रशासनिक तहमा ६ हजार ६ सय ९१ जना आवद्ध भएका छन् । यसरी अवद्ध हुने मध्येमा महिलाको संख्या १२ हजार ४ सय १३ र पुरुषको संख्या ११ हजार ६ सय १८ रहेको छ । निजी, सामुदायिक र अन्य अस्पतालले यी कर्मचारीलाई तलब तथा ज्याला गरी वार्षिक ४ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ वितरण गर्ने गरेको तथ्यांमा उल्लेख छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.