सिद्धार्थ बैंकको १८औं एजीएम बिहीबार बस्दै, कहाँ र कति बजे ?

  २०७६ कार्तिक ६ गते ४:०७       विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकको १८औं वार्षिक साधारणसभा(एजीएम) भोलि बिहीबार(कात्तिक ७ गते) बस्दै छ । बैंकको एजीएम भाेलि बिहान ११ बजे भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बस्न लागेको हो ।

सभाले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने बैंक सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्ने भएको छ । त्यस्तै, संस्थाले हालको चुक्ता पुँजीको १५.२६ प्रतिशतका दरले नगद लाभांश(बोनस तथा नगद लाभांशमा लाग्ने कर समेत गरी) प्रस्ताव गरेको छ ।

बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई हालको चुक्ता पुँजीको २५.२३ प्रतिशत(बोनस र नगद गरी) लाभांश दिन लागेको हो । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस सेयर पछि बैंकको चुक्ता पुँजी ९ अर्ब ७७ करोड रुपैयाँ नाघ्ने छ ।

त्यस्तै, बैंकले कम्पनीको स्वतन्त्र संचालक हसना शर्माको नियुक्तिलाई अनुमोदन गर्ने भएको छ । गत भदौ १२ गते बसेको बैंक संचालक समितिको बैठकले कम्पनीको रिक्त रहेको स्वतन्त्र संचालक पदमा बाँकी अवधिका लागि शर्मालाई नियुक्त गरेको थियो ।

सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७६/७७ को लागी बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्तावलाई पनि पारित गर्दै छ ।