४५ करोडको कारोबारमा सबैभन्दा बढी सगरमाथा इन्स्योरेन्सको, होटल बाहेक सबैसमूह राताम्मे

  २०७६ ज्येष्ठ ३० गते ३:३०       विकासन्युज

काठमाडौं । साताको अन्तिम दिनको बजारमा कूल ४५ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार कूल १७० कम्पनीको १४ लाख २३ हजार ६८७ कित्ता सेयर किनबेच भएको छ ।

जसमध्ये सबैभन्दा बढी सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको ३ करोड रुपैयाँ बराबरको सेयर बिक्री भएको छ, जसको सेयर मूल्य प्रतिकित्ता १ हजार २७१ रुपैयाँ रहेको छ । त्यस्तै, शिवम् सिमेन्ट र प्रभु बैंकको क्रमशः २ करोड ४६ लाख र २ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बिहीबार दुई कम्पनीको सेयरधनीले ५ प्रतिशत बढी कमाएका छन् । आँखु खोला जलविद्युत कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले क्रमशः ५.२६ र ५.०८ प्रतिशत कमाएका छन् ।

बिहीबारको नेप्से परिसूचक २.९२ अंकले घटेर १२६९.५५ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२३ प्रतिशत घटी हो । सातामा ४ दिन भएको कारोबारमा नेप्से परिसूचक १५ अंकले घटेको छ । गत बिहीबार १२८४ अंकमा रहेको नेप्से परिसूचक यस बिहीबार अर्थात आजसम्म निरन्तर घटेर १२६९ अंकमा आईपुगेको हो ।

सो दिन होटल समूहबाहेक बाँकी समूहको सूचक राताम्मे देखिएका छन् । होटल समूह सामान्य ४.१९ अंकले उकालो लागेको हो । सबैभन्दा बढी निर्जीवन बीमा समूह २३ अंकले घटेको छ ।