नेप्से एक महिनाकै न्युनतम बिन्दुमा, तीन समूहबाहेक सबै राताम्मे

  २०७६ ज्येष्ठ २९ गते ३:२५       विकासन्युज

काठमाडौं । बुधबारको नेप्से परिसूचक जेठ महिनाकै न्युनतम बिन्दुमा झरेको छ । जेठ गत वैशाख ३० गते १३०० अंकमा रहेको नेप्से परिसूचक आज अर्थात जेठ २९ गते १२७२ अंकमा अडिएको छ । जुन यसमहिना यताकै न्युनतम बिन्दु हो भने अधिकतम बिन्दु १३१९.६३ रहेको थियो ।

समग्रमा बुधबारको बजार अघिल्लो दिनको तुलनामा ०.२७ अर्थात ३.५० अंकले ओरालो लागेको हो । बजारमा केही समयदेखि नै सेयर कारोबार रकम र नेप्से परिसूचक दुबैमा गिरावट देखिएको छ । बुधबारको बजारमा पनि १७४ कम्पनीको जम्मा ५० करोड २६ लाख रुपैयाँ मात्रै सेयर कारोबार भएको छ । जसमध्ये ग्लोबल आईएमई बैंकको सबैभन्दा बढी प्रमोटर सेयर कारोबार भएको छ । बैंकको कुल ७ करोड १२ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको हो ।

त्यस्तै, बजारमा ३ समूह बाहेक कारोबारमा आएका बाँकी समूह राताम्मे देखिएका छन् । कूल १२ वटा समूहहरु मध्ये ट्रेडिङ, होटल र अन्य समूह क्रमशः ११, ७ र २ अंकले उकालो लागेका छन् भने बाँकी ९ वटा समूह ओरालो लागेका हुन् । ओरालो लाग्ने मध्ये सबैभन्दा बढी निर्जीवन बीमा समूह ६१ अंकले घटेको छ ।

बजारमा साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले सबैभन्दा बढी अर्थात १० प्रतिशत कमाएका छन् । बढी गुमाउनेमा नेपाल हाईड्रो डेभलपर्सका लगानीकर्ता रहेका छन्, जसले एकैदिन ७.०९ प्रतिशत गुमाएका छन् ।