नेपाल बङ्गलादेश बैंकले शुक्रबारदेखि दुई अर्बको ऋणपत्र बिक्री गर्दै

  २०७६ ज्येष्ठ ९ गते ४:४२       विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले जेठ १० गते (शुक्रबार)देखि दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले एक हजार रुपैयाँ अंकित दरको २० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो ।

सो मध्ये ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने छ भने बाँकी १२ लाख कित्ता(प्राइभेट प्लेसमेन्ट)बाट संस्थागत/व्यक्तिहरुलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

ऋणपत्र किन्न चाहने इच्छुकले जेठ १० गतेदेखि छिटोमा जेठ १४ गतेसम्म र ढिलोमा असार ८ गतेसम्म खरिद गर्न सक्ने छन् । केयर रेटिङ नेपालले उक्त ऋणपत्रलाई न्युन कर्जा जोखिम जनाउने “इक्रा एनपी ए एलबीबी प्लस” रेटिङ्ग प्रदान गरेको छ ।बैंकले १० वर्ष अवधि भुक्तानी भएको यस ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत व्याज पाइने छ । साथै, यस ऋणपत्र नेप्सेमा सूचीकृत हुनुका साथै विभिन्न बैंक तथा वित्ती संस्थाहरुबाट धितो राखी कर्जा समेत लिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ बढी रहेको छ । त्यस्तै, अधिकृत पुँजी १० अर्ब र जारी पुँजी ८ अर्ब ९ करोड रुपैयाँ रहेको छ ।