परिसूचक र कारोबार दुबै घट्दा अपरको १५ करोडको सेयर किनबेच, दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशतले वृद्धि

  २०७६ ज्येष्ठ ९ गते ३:३५       विकासन्युज

काठमाडौं । बिहीबार नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट देखिएको छ । परिसूचक ५.०८ अंकले घटेर १३१४.५५ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३९ प्रतिशत घटी हो ।

त्यस्तै, कूल १७० कम्पनीको ९३ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ३ करोड रुपैयाँले घटी हो । बुधबारको बजारमा ९६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

परिसूचक र कारोबार रकम दुबै घटेको बजारमा अपर तामाकोशी हाइड्रोपावरको सबैभन्दा बढी सेयर कारोबार भएको छ । हाइड्रोको एकैदिन १५ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिष्टीलरीको ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सामान्य अंकले घटेको बजारमा दुई कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था र मल्टि प्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले क्रमशः ९.९५ र ९.६३ प्रतिशत कमाएका छन् ।

उता दुई कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी गुमाएका छन् । बिहीबार हिमालय उर्जा विकास कम्पनी र हिमालयन पावर पार्टनरको लगानीकर्ताले क्रमशः ९.७२ र ९.७० प्रतिशत गुमाएका हुन् ।

बजारमा सबैभन्दा बढी होटल समूह ३५.८३ अंकले बढेको छ भने हाइड्रोपावर समूह ६४.७८ अंकले घटेको छ ।