जलविद्युत कम्पनीको सार्वजनिक निष्काशनमा विद्युत नियमन आयोगको पूर्व स्वीकृति अनिवार्य

  २०७६ ज्येष्ठ ९ गते २:०५       विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कुनै पनि जलविद्युत कम्पनीले सार्वजनिक सेयर निष्काशन गर्नुपूर्व विद्युत नियमन आयोगसँग स्वीकृति लिन निर्देशन दिएको छ । विद्युत नियमन आयोगको पूर्व स्वीकृति विना कुनै पनि जलविद्युत कम्पनीले सार्वजनिक निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन गरेमा त्यस्तो आवेदनमाथि बोर्डले कुनै पनि कारवाही नगर्ने पनि स्पष्ट पारेको छ ।

‘विद्युत नियमन आयोग नियमावली, २०७५ को नियम ४५ अनुसार विद्युत उत्पादन, प्रसारण, वितरण वा व्यापारको काम गर्न अनुमति प्राप्त कम्पनी वा संस्थाले सार्वजनिक रुपमा शेयर निष्काशन गर्न विद्युत नियमन आयोगको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था भएको’ पूर्व स्वीकृत अनिवार्य भएको बोर्डले जनाएको छ ।

विद्युत क्षेत्रमा प्रत्यक्ष नियमन निकायको अभाव भइरहेकोमा सरकारले विद्युत नियमन आयोग ऐन, २०७४ र सो सम्बन्धी विद्युत नियमन आयोग नियमावली, २०७५ कार्यान्वयनमा ल्याइसकेको छ । साथै, विद्युत नियमन आयोग गठन भई यसले कार्य संचालन पनि शुरु गरेको छ ।

जलविद्युत क्षेत्रको नियमन निकायको स्थापनासँगै उक्त आयोगले जलविद्युत कम्पनीको सार्वजनिक निष्काशनको आवश्यकता, संस्थागत सुशासन लगायतका विषयमा नियमन गर्ने देखिएकोले जलविद्युत क्षेत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षणमा थप मद्दत पुगी धितोपत्र बजार थप प्रभावकारी तथा विश्वसनीय हुने बोर्डले विश्वास लिएको बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौड्यालले जनाएका छन् ।