लगातार बजार घटेपछि इन्भेष्टर्स फोरम तात्यो, सेयरधितो कर्जा ७० प्रतिशत पुर्याउन अर्थमन्त्रीसंग माग

विकासन्युज                              २०७४ फाल्गुन २९ गते ४:२३

काठमाडौं । सेयर बजार निरन्तर घट्दै गएपछि नेपाल इन्भेष्टर्स फोरमले सेयरधितो कर्जा सीमा बढाउन सरकारसंग माग गरेको छ ।
फोरमले सोमबार अर्थमन्त्रीलाई बुझाएको १६ बुँदे मागपत्रमा हालको सेयरधितो कर्जा ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याउन माग गरेको हो ।

१८० दिनको र हालको कारोबार मूल्यमा जुन कम छ त्यही आधारमा बैंकले सेयर धितोराखी कर्जा दिने पाउने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । सेयर धितो कर्जाको सीमा बढाएमा सेयर बजार बढ्ने फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल बताउछन् ।

यस्तै सेयर कर्जामा लगाइएको पुँजीगत जोखिम भार पनि शत्प्रतिशत घटाइनु पर्ने माग फोरमले गरेको छ । फोरमले सेयर कारोबार अनलाईनमार्फत गराउन सरकारको ध्यानकर्षण गरेको छ ।

पुँजीबजारमा गैरआवासिय नेपालीलाई भित्राउनका लागि आवश्यक कानूनको निर्माण, पुँजी बजारको सुधारका लागि दोस्रो स्टक एक्सचेन्जको सञ्चालन, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सीडीएस क्लियरिङ हाउसलाई प्रविधिमैत्री बनाउने, ब्रोकरको क्षेत्राधिकार विस्तार गरी आस्वामा आवद्ध वाणिज्य बैंकमार्फत सेयर कारोबार सुविधा विस्तार र ब्रोकर सेवा शुल्क र बर्हिगमन अन्तराष्ट्रिय चलन अनुसार गराउन सुझाएको छ ।

ब्रोकरमार्फत सेयर कर्जा तत्काल उपलब्ध गराउने, मार्केट मेकर र धितोपत्र व्यवसायीलाई छिटोभन्दा छिटो हालको बजारमा प्रवेश दिलाउने, ३ दिनको राफसाफलाई कारोबार सकिएको २४ घण्टाभित्र झार्ने, बोनस सेयर साधारणसभा भएको ७ दिन र हकप्रद बाँडफाँड भएको ७ दिनभित्र नेपाल स्टकमा सुचिकृत हुने व्यवस्था मिलाउन फोरमले अर्थमन्त्रीको ध्यानकर्षण गराएको छ ।

डिबेन्चर र बण्ड मार्केट्सलाई व्यवस्थित र तरल बनाउने र फाइनान्सियल डेरिभेटिभ कारोबारलाई सञ्चालनमा ल्याउन माग गरिएको छ । यसअघि पटक पटक उठाएका मागलाई पुरा नगर्दा बजार विस्तार नभएको फोरमको ठहर छ ।

बजार निरन्तर घट्दै जादा सम्बन्धित क्षेत्र मौन रहदा लगानीकर्ता निरुत्साही भएको मागपत्रमा उल्लेख छ । विगत ५ वर्षयता शिक्षक, वकिल, प्राध्यापक, गृहणीलगायत सबै प्रकारका लगानीकर्ताले सेयर बजारमा आफनो पुँजी परिचालन गरिहेको फोरमले जनाएको छ ।