युनिभर्सल पावर कम्पनीले ९६ करोडको आईपीओ निष्कासन गर्न माघ ११ गते बोलायो विशेष साधारणसभा

विकासन्युज                              २०७४ पौष २७ गते ३:५५

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले ४० प्रतिशत साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । युनिभर्सलले ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न माघ ११ गते विशेष साधारणसभा बोलाएको छ ।

सभाबाट पारित भएपछि आईपीओ निष्कासनको प्रक्रिया सुरु हुने कम्पनीले जनाएको छ । कम्पनीले १० प्रतिशत आयोजना प्रभावित दोलखा जिल्लावासी र ३० प्रतिशत सर्वसाधारणलाई सेयर निष्कासन गर्नेछ ।

युनिभर्सलमा ४० प्रतिशत सर्वसाधारण र ६० प्रतिशत संस्थापक सेयर हुने गरी लगानी संरचना तयार पारिएको छ । साधारणसभाबाट पारित भएपछि आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले सर्वसाधारणबाट अग्राधिकार सेयरको रुपमा उठाएको ९५ करोड रुपैयाँ साधारण सेयरमा परिणत गरेको छ । आयोजनाको काम सुरु गर्न कम्पनीले सर्वसाधारणबाट अग्राधिकार सेयर उठाएको थियो । युनिभर्सलको सेयर दाखिला खारेज बिहीबारदेखि सुरु भई माघ ११ गतेसम्मका लागि बन्द हुने भएको छ ।

युनिभर्सलले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको छ । आयोजना बनाउन २ अर्ब ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कम्पनीमा ८८ प्रतिशत स्वामित्व सीईडीबी हाइड्रो फण्ड लिमिटेडको छ । सीईडीबी माउ कम्पनी हो । युनिभर्सलले अन्य जलविद्युत आयोजना पनि निर्माणको तयारी गरेको छ ।

यस्तै यही समूहअन्र्तगतको राधी विद्युत कम्पनी लिमिटेडले पनि हालै सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको थियो । जलविद्युत आयोजनाले प्रभावित स्थानिय बासिन्दालाई न्युनतम् १० प्रतिशत आईपीओ निष्कासन गर्नुपर्ने वाध्यकारी व्यवस्था भएपछि कम्पनीले धमामध आईपीओ निष्कासन गर्न लागेका हुन् ।