सेयर बजारमा हरियाली, नेप्से दोहोरो अंकले बढ्दा ६७ करोडको सेयर किनबेच

विकासन्युज                              २०७४ मार्ग २० गते ३:२२

काठमाडौं । दोश्रो चरणको चुनाव नजिकिँदै गर्दा सेयर बजारमा हरियाली छाएको छ । चुनावको अघिल्लो दिनको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा बुधबारको नेप्से ११.६७ अंकले उकालो लागेर १५३६.५४ अंकमा पुगेको छ ।

बजारमा ६७ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम मंगलबारको तुलनामा १३ करोड रुपैयाँ बढी हो । मंगलबारको बजारमा कुल ५४ करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

बुधबारको बजारमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस दिन कम्पनीको ६ करोड ४० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७७८ रुपैयाँ रहेको छ ।

बीमा समूहको परिसूचक सबैभन्दा बढी ६८.६३ अंकले उकालो लागेको छ । त्यस्तै, हाइड्रो, होटल, माइक्रोफाइनान्स र विकास बैंकको परिसूचक क्रमशः ३२, २८, २४ र २३ अंकले उकालो लागेका छन् । बजारमा ट्रेडिङ समूहको परिसूचक सामान्य २.४५ अंकले ओरालो लागेको छ भने बाँकी समूहको परिसूच सामान्य अंकले उकालो लागेका छन् ।

दोहोरो अंकले बढेको बजारमा सबैभन्दा बढी छ्याँङदी हाइड्रोपावरका लगानीकर्ताले ७.५३ प्रतिशत कमाएका छन् । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँ रहेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १४ रुपैयाँ बढी हो ।

उता हिमालयन पावर पार्टनरका लगानीकर्ताले २.३५ प्रतिशित गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४१५ रुपैयाँ रहेको छ ।