नेप्से सामान्य अंकले घट्दा ५७ करोडको सेयर कारोबार, सबैभन्दा बढी बुटवल पावरको

विकासन्युज                              २०७४ मार्ग १९ गते ३:२८

काठमाडौं । मंगलबारको नेप्से परिसूचक सामान्य १.९० अंकले ओरालो लागेर १५२.८७ अंकमा झरेको छ । सामान्य अंकले घटेको बजारमा ५७ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १६३ कम्पनीको १० लाख ८२ हजार कित्ता सेयर किनबेच भएका छन् ।

बजारमा सबैभन्दा बढी बुटवल पावर कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको एकैदिन १० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७४० रुपैयाँ रहेको छ ।

त्यस्तै, बजारमा सबैभन्दा बढी सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले ५.२० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा रिलायन्स फाइनान्सका लगानीकर्ता रहेका छन् । यस कम्पनीका लगानीकर्ताले ४.४३ प्रतिशत गुमाएका छन् ।

मंगलबार बीमा समूहको परिसूचक २७ अंकले उकालो लागेको छ । त्यस्तै, माइक्रोफाइनान्स, उत्पादनमूलक र ट्रेडिङ समूहका परिसूचक क्रमशः ६.६१, ३.२२ र ०.०९ अंकले उकालो लागेका छन् । अन्य बाँकी समुहको परिसूचक भने राताम्मे भएका छन् ।