बजारमा ९९ करोडको सेयर कारोबार, नबिल बैंकको मात्रै २४ करोडको प्रमोटर सेयर बिक्री

विकासन्युज                              २०७४ आषाढ़ २७ गते ५:३८

काठमाडौं । मंगलबारको सेयर बजारमा साँढे ९९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १४९ कम्पनीको १९ लाख ३० हजार कित्ता सेयर करिब ९९ करोड ६३ लाख रुपैयाँमा सेयर किनबेच भएको छ ।

बजारमा सबैभन्दा बढी नबिल बैंकको प्रमोटर सेयर बिक्री भएको छ । सो बैंकको एकैदिन २४ करोड ६१ लाख रुपैयाँ बढीको प्रमोटर सेयर किनबेच भएको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११२४ रुपैयाँ रहेको छ । जुन रकम अघिल्लो दिनको तुलनामा प्रतिकित्ता १९ रुपैयाँले बढी हो । त्यस्तै, यस बैंकको प्रमोटर सेयर ११०० रुपैयाँदेखि ११३४ रुपैयाँ सम्ममा किनबेच भएको छ ।

मंगलबारको नेप्से परिसूचक ९ दशमलब ७९ अंकले बढेर १५८५ अंकमा पुगेको छ । करिब दोहोरो अंकले बढेको बजारमा कारोबार भएका सबै समूहको परिसूचक हरिया देखिएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ६० अंकले उकालो लागेको छ । त्यस्तै, होटल, हाइड्रोपावर र विकास बैंक समूहको परिसूचक क्रमशः ३५, १५ र १३ अंकले उकालो लागेका छन् ।

बजारमा दुई बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । फर्वाड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्था र कुबेर मर्चेन्ट फाइनान्सको सेयर मूल्य क्रमशः ९.९८ र ९.६२ प्रतिशतले वृद्धि भएका छन् ।

उता नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमोटर सेयरको मूल्य करिब ९.०९ प्रतिशतले घटेको छ ।