नेप्से १६ अंकले बढ्यो, नेपाल लाइफ इन्स्योरेन्ससहित चार कम्पनीको कराेडाैंको कारोबार

विकासन्युज                              २०७५ फाल्गुन २३ गते ३:२५

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । करिब दुई दिनयता सामान्य अंकले बढिरहेको बजार बिहीबार १६ अंकले उकालो लागेर ११२७ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.४४ प्रतिशतले बढेको हो ।

बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ । बिहीबार २९ करोड ६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा ७ करोड रुपैयाँ बढी हो । बुधबारको बजारमा कुल २२ करोडको कारोबार भएको थियो ।

कुल १७६ कम्पनीको कारोबार भएको बजारमा विभिन्न ४ वटा कम्पनीको करोडौंको सेयर किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआईसी) को एक करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यसैगरी, नेपाल क्रेडिट एण्ड कमर्शियल बैंकको एक करोड २८ लाख, अपर तामाकोशी हाइड्रोपावरको एक करोड ७ लाख र एनआईसी एशिया बैंकको एक करोड ३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । प्रभु बैंकको ९९ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएका छन् ।

सो दिन कारोबारमा आएका १० समूहमध्ये उत्पादनमूलक बाहेक बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा १५९ अंकले बढेको छ । उत्पादनमूलक भने अघिल्लो दिनको तुलनामा १८ अंकले घटेर २००५ अंकमा झरेको छ ।