शिवम् सिमेन्टको आईपीओः ५ हजार २२० कित्तासम्म आवेदन दिनेले मागे जति पाए

विकासन्युज                              २०७५ फाल्गुन २२ गते २:१२

काठमाडौं । शिवम् सिमेन्टको साधारण सेयर(आईपीओ) बाँडफाँट भएको छ । सिमेन्टले गत फागुन ६ गतेदेखि फागुन ९ गतेसम्म बिक्री गरेको उक्त आईपीओ बुधबार बाँडफाँड गरेको हो ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार उक्त आईपीओमा ५ हजार २२० कित्तासम्म आवेदन दिने सबैलाई माग अनुसार सेयर बाँडफाँट गरिएको छ । त्यस्तै, योभन्दा बढी १ लाख कित्तासम्म आवेदन दिएका सबैलाई ५ हजार ६४० कित्ताका दरले सेयर बाडिएको क्यापिटलले जनाएको छ ।

 

यसरी बाँडफाँट गरे पश्चात ११५ कित्ता सेयर बाँकी रहेकोमा ५ हजार २२० कित्ताभन्दा बढी माग गर्नेमध्ये गोलाप्रथाबाट ११ जनाले १० कित्ता थप सेयर पाएका छन् । त्यस्तै, बाँकी ५ कित्ता सेयर पनि सोही रेन्जमा आवेदन दिएकामध्ये ५ जनाले १ कित्ताका दरले थप सेयर पाएका हुन् ।

बिक्री प्रबन्धकका अनुसार आयोजना प्रभावित स्थानीय बासिन्दाले मागे जति नै सेयर पाएका छन् । १५ कित्तादेखि १ लाख १५ हजार कित्तासम्म सेयर हात पारेका छन् । स्थानीयतर्फ ९४ हजार ६९५ कित्ता सेयर बिक्री भएको थिएन । त्यसैले उक्त बिक्री नभएको सेयर सर्वसाधारणलाई थपेर वितरण गरिएको क्यापिटलले जनाएको छ ।