सेयर बजारमा छायो हरियाली, नेप्से ९ अंकले बढेर ११११ अंकमा

विकासन्युज                              २०७५ फाल्गुन २२ गते ३:२७

काठमाडौं । निरन्तर गिरावटले राताम्मे भएको बजार बुधबार भने बढेर हरियो देखिएको छ । सो दिन नेप्से ९.१२ अंकले बढेर ११११.७६ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.८३ प्रतिशतले बढेको हो ।

परिसूचक बढेसँगै कारोबारमा आएका सबै सूचक हरिया भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ९६.१४ अंकले बढेर ५७४४ अंकमा पुगेको छ । त्यस्तै, निर्जीवन बीमा समूह ६७.५६ अंक, होटल २५, माइक्रोफाइनान्स १९ र विकास बैंक १० अंकले बढेको छ ।

 

सो दिन कुल १६९ कम्पनीको २२ करोड ४६ लाख ६६ हजार १२८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी एनसीसी बैंकको एक करोड ४६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल बैंकको एक करोड ३६ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी एक करोड १७ लाख र एनएमबि बैंकको एक करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बजारमा सबैभन्दा बढी हाथवे फाइनान्स कम्पनी र कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य क्रमशः ८.३३ र ८.२८ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घलेम्दी हाइड्रोका लगानीकर्ताले ६.५५ प्रतिशत गुमाएका छन् ।