बुक क्लोज नजिकिँदै गर्दा नबिल बैंकको कारोबारमा वृद्धि, बजार ७ अंकले बढ्यो

विकासन्युज                              २०७५ फाल्गुन १३ गते ३:४०

काठमाडौं । नबिल बैंकको शेयरधनी किताब बन्द(बुक क्लोज) नजिकिँदै गर्दा कम्पनीको सेयर कारोबारमा वृद्धि भएको छ । बैंकको फागुन १४ गते(मंगलबार) बुक क्लोज हुने भएपछि सोमबार कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो ।

कम्पनीको एकैदिन कूल ३ करोड ९० लाख ८३ हजार ९१२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकको २ करोड ५० लाख रुपैयाँ साधारण र एक करोड ४० लाख रुपैयाँ बराबरको संस्थापक (प्रमोटर) गरी सो मात्राको सेयर बिक्री भएको हो ।

बजारमा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । बजारमा कम्पनीको सेयर सस्तिँदै गएपछि लगानीकर्ताहरु सस्तो मूल्यमा सेयर किन्न झुम्मिएका हुन् ।

साथै, बैंकले सेयरधनीलाई ३४ प्रतिशत लाभांश(१२ प्रतिशत बोनस र २२ प्रतिशत नगद लाभांश) वितरण गर्ने भएपछि लगानीकर्ताहरुको बैंकको सेयरमा आकर्षण बढेको हो । कम्पनी आगामी फागुन २५ गते वार्षिक साधारणसभामा जाँदै छ । उक्त सभाले सेयरधनीलाई ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ ।

सोमबार पनि बैंकको साधारण सेयरको मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैयाँले घटेर प्रतिकित्ता ७९४ रुपैयाँमा किनबेच भएको छ । त्यस्तै, बैंकको संस्थापक सेयरको मूल्य १० रुपैयाँले बढेर प्रतिकित्ता ७५० रुपैयाँ पुगेको छ ।

सोमबारको बजार ७.४१ अंकले बढेर ११०९.७३ अंकमा पुगेको छ । सो दिन कुल १६६ कम्पनीको २० करोड ३८ लाख ३९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।