नेप्से १२ अंकले घट्दा माछापुच्छ्रे बैंकको सबैभन्दा बढी कारोबार, अधिकांश समूह राताम्मे

विकासन्युज                              २०७५ माघ २७ गते ३:१६

काठमाडौं । आइतबारको नेप्से परिसूचक १२.०५ अंकले घटेको छ । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको नेप्से १.०६ प्रतिशतले घटेर ११२७.५३ अंकमा अडेको छ ।

दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी माछापुच्छ्रे बैंकको सेयर कारोबार भएको छ । सो दिन बैंकको एक करोड ४० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २०९ रुपैयाँ रहेको छ । जुन पछिल्लो कारोबारको तुलनामा आइतबार प्रतिकित्ता २ रुपैयाँले बढेको हो ।

त्यस्तै, अपर तामाकोशी हाइड्रोपावर र नेपाल इन्भेष्टमेन्ट बैंकको क्रमशः एक करोड ३९ लाख र एक करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कुल १६० कम्पनीको कारोबार भएको आइतबारको बजारमा २३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बजारमा कारोबारमा आएका १० समूहहरु मध्ये अधिकांश समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह १६० अंकले ओरालो लागेको छ ।

त्यस्तै, निर्जीवन बीमा ११०, हाइड्रोपावर २६, विकास बैंक १४ र अन्य बाँकी समूह एकल अंकले ओरालो लागेका छन् । होटल समूह भने ११.६८ अंकले उकालो लागेको छ ।