यूनिभर्सल पावरको आईपीओ आजदेखि खुल्यो, ५० लाख कित्तासम्म भर्न पाइने

विकासन्युज                              २०७५ माघ २५ गते १:४५

काठमाडौं । यूनिभर्सल पावर लिमिटेडले आज शुक्रबारदेखि ९३ करोड २७ लाख ४१ हजार रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ९३ लाख २७ हजार ४१० कित्ता सेयरको बिक्री शुरु गरेको हो ।

कम्पनीले आजोजना प्रभावित क्षेत्रका वासिन्दाहरूलाई बाँडफाँड गरी बिक्री हुन बाँकी रहेको १७ लाख ६६ हजार १५० कित्ता समेत गरी सो मात्राको सेयरको बिक्री खुला गरेको जनाएको छ । सो मध्ये एक लाख ८६ हजार ५४८ कित्ता सेयर कर्मचारीलाई, ४ लाख ६६ हजार १५० कित्ता सामूहिक लगानी कोष र बाँकी ८६ लाख ७४ हजार ४९२ कित्ता सेयर सर्वसाधारणलाई बिक्री शुरु गरेको छ ।

उक्त सेयरमा इच्छुक लगानीकर्ताले न्युनतम ५० कित्तादेखि अधिकतम ५० लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारणले छिटोमा माघ २९ गते र ढिलोमा फागुन २६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

चुक्ता पुँजी एक अर्ब १३ करोड रुपैयाँ रहेको कम्पनीको सेयर बिक्री प्रवन्धकको काम नक्सालस्थित सिद्धार्थ क्यापिटल लिमिटेडले गरिरहेको छ । साथै, यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २१ लाख ३५० कित्ता आईपीओ जारी गरी बाँडफाँट गरिसकेको छ ।