अपर तामाकोशीसँगै घट्यो आइतबारको सेयर बजार, दिनभरि अपरमा के के भयो ?

विकासन्युज                              २०७५ माघ ६ गते ३:२५

काठमाडौं । आइतबार अपर तामाकोशी हाइड्रोपावरको सेयर मूल्यमा गिरावट आएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा कारोबार शुरु भएदेखि निरन्तर बढिरहेको अपरको सेयर मूल्य आइतबार ६.१० प्रतिशतले घटेको छ ।

गत पुस २९ गतेदेखि कारोबार शुरु भएको उक्त कम्पनीको मूल्य ५ दिनसम्म निरन्तर उच्च मूल्यमा कारोबार भएको थियो । तर आज छैटौँ दिनको उक्त मूल्य वृद्धि थामिएको छ ।

अघिल्लो कारोबार अर्थात गत बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३११ रुपैयाँ थियो भने आइतबार कम्पनीको सेयर प्रतिकित्ता ३२६ रुपैयाँदेखि कारोबार शुरु भएको थियो । कारोबार शुरु भएको केही समयमै कम्पनीको सेयर मूल्य उच्च अंकले बढेर प्रतिकित्ता ३४२ रुपैयाँ पुगेको थियो । सो समयमा कम्पनीको ३ लाख ११ हजार कित्ता सेयर किनबेच भएको थियो ।

बजारमा उच्च कारोबार भएपछि त्यसपछिको बजारमा सर्किट ब्रेक लाग्यो । बजारमा सर्किट ब्रेकसँगै सिस्टममा केही समस्या आएको थियो र त्यसको करिब १५ मिनेटमै सेयर कारोबार खुल्यो ।

सर्किट ब्रेक लागेपछि खुलेको बजारमा भने अपरको मूल्य वृद्धिले गति लिन सकेन र त्यसपछि निरन्तर घट्न थाल्यो । अन्ततः बजार बन्द हुँदा अपर तामाकोशीको सेयर मूल्य ६.११ प्रतिशतले घटेर प्रतिकित्ता २९२ रुपैयाँमा सिमित रहेको छ । कम्पनीको मूल्यमा गिरावट आएता पनि सो दिन सबैभन्दा बढी कारोबार भएको छ । जसको एकैदिन २३ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अपर तामाकोशीको मूल्य घटेसँगै आइतबारको बजार समग्रमा ८.६० अंकले घटेर ११७९.१७ अंकमा झरेको छ । बजारमा कुल १४३ कम्पनीको ३६ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।