बजार ७ अंकले घट्दा अपर तामाकोशीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

विकासन्युज                              २०७५ माघ २ गते ३:३२

काठमाडौं । बुधबारको सेयर बजार ७.५७ अंकले ओरालो लागेको छ । मंगलबार दोहोरो अंकले बढेको बजार बुधबार भने ०.६३ प्रतिशतले घटेर ११८७ अंकमा झरेको छ ।

सो दिनको परिसूचकमा तीब्र उतारचढाव देखिएको छ । परिसूचकमा उतारचढाव देखिएतापनि सेयर कारोबारमा भने केही सुधार देखिएको छ । दिनभरको कारोबारमा कुल १६९ कम्पनीको ५३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

तीब्र उतारचढाव देखिएको बजारमा पनि अपर तामाकोशी हाइड्रो पावरको सेयर मूल्य ९.६९ प्रतिशतले बढेको छ । सो दिन कम्पनीको सेयर मूल्य २५ रुपैयाँले बढेर प्रतिकित्ता २८३ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको कारोबारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५८ रुपैयाँ रहेको थियो ।

आइतबारदेखि नेप्सेमा कारोबार शुरु गरेको यस कम्पनीको सेयर उच्च मूल्यमा बिक्री भइरहेको छ । उक्त दिनदेखि बुधबारसम्म कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढीरहेको छ । प्रतिकित्ता ७४.८९ रुपैयाँदेखि कारोबार शुरु भएको कम्पनीको सो दिन मै उच्चतम मूल्य प्रतिकित्ता २२४ रुपैयाँमा किनबेच भएको थियो । बुधबारको दिनसम्म कम्पनीका लगानीकर्ताले प्रतिकित्ता १८३ रुपैयाँ नाफा कमाइ सकेका छन् ।

बजारमा हाइड्रोपावर, उत्पादनमूलक र ट्रेडिङ समूह बाहेक बाँकी समूह ओरालो लागेका छन् । हाइड्रोपावर, उत्पादनमूलक र ट्रेडिङ समूह क्रमशः २२, २ र १ अंकले उकालो लागेका छन् ।