‘सीआईटी’ र ‘अपर’ले उचाल्यो शेयरबजार, बजार पुँजीकरणमा करिब ५ अर्बको योगदान

विकासन्युज                              २०७५ माघ १ गते ४:१६

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर र नागरिक लगानी कोषका शेयर स्क्रिपहरुको मूल्यमा १० प्रतिशतको वृद्धि हुँदा समग्र बजार परिसूचक १७ अंकले माथि उक्लेको छ ।

मंगलबारको शेयर बजारमा परिसूचक १७.५१ अंकले बढेर ११९५.५४ अंक पुगेको छ । उक्त दिन कारोबार रकम ३९ करोड ७३ लाख भएको छ ।

आज कारोबार भएका सबै ११ वटै परिसूचकहरुका वृद्धि भएको छ । अपर तामाकोशी हाइड्रोपावरको वृद्धिले हाइड्रो परिसूचकले ४.३५ प्रतिशतको वृद्धि हासिल गरेको छ ।

माथिल्लो तामाकोशी हाइड्रोपावरको शेयरको अघिल्लो दिनको बजार पुँजीकरण २४ अर्ब ८८ करोड थियो । यसमा करिब १० प्रतिशतले वृद्धि हुँदा कुल बजार पुँजीकरणमा करिब साढे २ अर्ब सहयोग पुगेको थियो ।

त्यस्तै, नागरिक लगानी कोष २१ अर्ब ४५ करोड ९१ लाखबाट १० प्रतिशत २ अर्ब ३५ करोड रुपैंया बढेको छ । अपर तामाकोशी र नागरिक लगानी कोषले आजको बजारमा करिब ४ अर्ब ८५ कराेडको योगदान पुर्याएका छन् ।