नेप्से परिसूचक साताकै न्युनतम बिन्दुमा, कारोबार रकममा ८५ करोड गिरावट

विकासन्युज                              २०७५ पौष १९ गते ३:३०

काठमाडौं । बिहीबारको नेप्से परिसूचक यस साताकै न्युनतम विन्दुमा झरेको छ । साताको पहिलो दिन १२१५ अंकबाट शुरु भएको बजार अन्तिम दिन ११७८ अंकमा झरेको छ । साताभरिमा नेप्से परिसूचक ३७ अंकले घटेको छ । समग्रमा बिहीबारको नेप्से अघिल्लो दिनको तुलनामा १.५६ अंकले घटेको छ ।

बजारमा परिसूचकसँगै सेयर कारोबार रकममा पनि गिरावट भएको छ । बिहीबारको कारोबार रकम २७ करोड ६९ लाख रुपैयाँमा सिमित भएको छ । जुन गत बिहीबारको तुलनामा ८५ करोड ३० लाख रुपैयाँ घटी हो । गत बिहीबारको बजारमा एक अर्ब १२ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

बिहीबारको बजारमा नेपाल बैंकको २ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्सको प्रमोटर सेयर र एनसीसी बैंकको एक करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

साताको अन्तिम कारोबारमा तीन समूहको सूचक ओरालो लागेका छन् भने बाँकी समूह उकालो लागेका छन् । विकास बैंक, जलविद्युत र होटल समूह क्रमशः ६.१८, ६.३७ र ४.३६ अंकले घटेको छ । सो दिन जीवन बीमा समूह ६८ अंकले उकालो लागेको छ ।

सबैभन्दा बढी यूनाईटेड मोदी हाइड्रोपावरको सेयर मूल्य ५ प्रतिशतले बढेको छ । कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले बिहीबार ६.९७ प्रतिशत गुमाएका छन् ।