धितोपत्र बोर्डले फेला पार्यो पूँजी बजार सुधार्ने ९ क्षेत्र, यसरी गर्दैछ काम

विकासन्युज                              २०७५ पौष १८ गते ५:४९

काठमाडौं । नेपाली पूँजी बजारको विकासका लागि धितोपत्र बोर्डले सुधारका ९ वटा क्षेत्र फेला पारेको छ । बोर्डले तिनै ९ वटा क्षेत्रमा सुधारको काम समेत अघि बढाईसकेको छ । पुँजी बजारको दिगो विकासका लागि बोर्डले पहिलो सुधार इन्साइडर ट्रेडिङबाट थाल्दैछ । त्यसका लागि बोर्डले इन्साइडर ट्रेडिङ निरुत्साहित गर्न भित्री कारोवार बन्देज नियमावलीको मस्यौदा तयार पारेर अर्थमन्त्रालयमा पेश गरिसकेको छ ।

बोर्डले सर्वसाधारण लगानीकर्ताको वित्तीय साक्षरता तथा धितोपत्र बजारको विकासको अवस्थालाई मध्यनजर गरी क्रेडिट रेटिङ्ग संस्थाबाट न्यूनतम ग्रेड भन्दा माथिल्लो ग्रेड वा रेटिङ्ग प्राप्त गरेका संगठित संस्थाहरुलाई मात्र सार्वजनिक निष्काशन अनुमति प्रदान गर्ने प्रक्रिया पनि अघि बढाईसकेको छ ।

ऋणपत्रको दोस्रो कारोवारलाई विकास गर्न संगठित संस्थाले ऋणपत्र जारी गर्दा जारी रकमको कम्तिमा ४० प्रतिशत ऋणपत्र प्राकृतिक व्यक्तिलाई विक्री वितरण गर्नु पर्ने व्यवस्था पनि अघि सारेको छ । त्यस्तै, सूचिकृत कम्पनीले एफपीओ जारी गर्दा कम्पनीको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रति शेयर नेटवर्थ भन्दा बढी नहुने गरी प्रिमियम मूल्य निर्धारण गर्नुपर्ने व्यवस्था गर्दैछ ।

प्रिमियममा प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा प्रिमियम मूल्य संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रति शेयर नेटवर्थको दुई गुणा भन्दा बढी नहुने गरी निष्काशन गर्न सक्ने व्यवस्था गर्न धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा गरिने संशोधनको मस्यौदा तयार पारिसकेको छ ।

वाणिज्य वैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने, ब्रोकर कम्पनीहरुबीच मर्जर र एक्विजिसनको व्यवस्था गर्न धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा वजार निर्माता) नियमावली, २०६४ मा गर्नुपर्ने संशोधनको प्रक्रिया पनि अघि बढाईसकेको जनाएको छ । २०७५ कार्तिक २० देखि स्वचालित कारोबार प्रणाली कार्यान्वयनमा आएकाले धितोपत्र व्यवसायीहरुको शुल्क पुनरावलोकनको काम पनि अघि बढेको छ ।

लगानीकर्ताहरुको हित संरक्षणका लागि वास्तविक क्षेत्रका संगठित संस्थाका संस्थापकहरुले लिएको संस्थापक शेयरको ‘लक इन पिरियड’ लाई अन्य वित्तीय क्षेत्रको नियमनकारी निकायले गरेको व्यवस्थासँग जस्तै बनाउन लागिएको छ । साना चुक्ता पूँजीको आधार भएका संगठित संस्थाहरुलाई प्राइभेट प्लेसमेन्ट मार्फत शेयर निष्काशन गर्ने व्यवस्था गरी त्यसरी निष्काशन गरिएको शेयरको कारोवार ओटीसी बजारमा कारोबार हुने व्यवस्था गर्ने सम्बन्धमा आबश्यक अध्ययन कार्य अगाडि बढाइएको बोर्डले जनाएको छ । पूँजी बजारको विकासक्रम र उतारचढावको अध्ययन गर्ने स्थायी प्रकृतिको विज्ञ समुह गठन गर्ने निष्कर्षमा पनि बोर्ड पुगेको छ ।

एफपिओको अनुमति सम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्ने र सार्वजनिक निष्काशनमा विश्वव्यापीरुपमा प्रचलनमा रहेको बुक बिल्डङ प्रणाली अवलम्वन गर्न तथा त्यस प्रणाली कार्यान्वयनमा ल्याउन आवश्यक अध्ययन पनि बोर्डले गरिरहेको छ । धितोपत्र व्यवसायीहरुले लगानीकर्ता साक्षरता अभिवृद्धि गर्न आफनो मुनाफाको कम्तिमा १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाई खर्च गर्नुपर्ने व्यवस्था ल्याउने तयारी भैरहेको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।