सेयर बजारमा ५ अंकको गिरावट

विकासन्युज                              २०७५ पौष १८ गते ३:०३

काठमाडौं । बुधबारको सेयर बजार ५.४२ अंकले घटेको छ । दिनभर उतारचढाव देखिएको बजारमा परिसूचक ०.४६ प्रतिशतले घटेर ११८० अंकमा झरेको छ ।

बजारमा कुल १५४ कम्पनीको २५ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ३ करोड रुपैयाँ बढी हो । अघिल्लो दिन(मंगलबार)को बजारमा कुल २२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

त्यस्तै, माइक्रो फाइनान्स र ट्रेडिङ समूह बाहेक कारोबारमा आएका बाँकी समूह ओरालो लागेका छन् । सबैभन्दा बढी जीवन बीमा समूहको सूचक ६८ अंकले ओरालो लागेको छ । माइक्रो फाइनान्स र ट्रेडिङ समूहको सूचक क्रमशः ६.५९ र २.७९ अंकले बढेको छ ।

बजारमा सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनीको सेयर किनबेच भएको छ । कम्पनीको बुधबार मात्रै २ करोड २८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ६७५ रुपैयाँ रहेको छ ।

बुधबार कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.४२ प्रतिशत कमाएका छन् । उता अरुण काबेली पावरको सेयर मूल्य सबैभन्दा बढी ४.६६ अंकले घटेको छ ।