ईमर्जिङ्ग नेपालले ६ वटा परियोजनामा लगानी गर्ने, सर्वसाधारणको लागि १० प्रतिशत सेयर जारी गर्दै

विकासन्युज                              २०७४ भाद्र २७ गते ५:५६

काठमाडौं । ईमर्जिङ्ग नेपालले ६ वटा परियोजनामा लगानी गर्ने निर्णय गरेको छ । नेपाल इन्स्फ्रास्ट्रक्चर बैंक, केयर रेटिङ नेपाल र होटल एलिस द वण्डर इन लिमिटेडमा लगानी शुरु गरिसकेको यस कम्पनीले इन्स्योरेन्स ट्रेनिङ इन्स्टिच्यूटमा पनि लगानी गर्ने भएको छ ।

यस कम्पनीले इन्स्फ्रास्ट्रक्चर बैंकमा २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ भने होटल एलिस द वण्डर इन लिमिटेडमा ६ करोड १४ लाख रुपैयाँ लगानी गरिसकेको छ ।

त्यस्तै भारतको क्रेडिट एनालाईसिस् एण्ड रिसर्च लिमिटेड, विशाल ग्रुप र ईमर्जिङ्ग नेपालको संयुक्त लगानीमा केयर रेटिङ कम्पनी खुल्दैछ । धितोपत्र बोर्डबाट सञ्चालन अनुमति लिएर दशैंअघि नै उक्त कम्पनी सञ्चालनमा ल्याउने प्रयास भईरहेको कम्पनीको प्रमुख कार्यकारी अधिकृत डा आत्रेयले जानकारी दिए ।

बीमा समिति र बीमा कम्पनीहरुसँग मिलेर कम्पनीले बीमा ट्रेनिङ इन्स्टिच्युट खोल्ने तयारी गरिरहेको उनले बताए । कृषि, पर्यटन र सेवाका क्षेत्रबाट केही राम्रा परियोजनामा लगानीको प्रस्ताव आएको र त्यसबारे अध्ययन भईरहेको उनले जानकारी दिए ।

हकप्रद र साधारण सेयर जारी गर्ने

विभिन्न परियोजनामा लगानी प्रतिवद्धतासँगै कम्पनीले हकप्रद र साधारण सेयर निष्काशन गरी पुँजी वृद्धि गर्ने निर्णय गरेको छ ।

भदौ २५ गते सम्पन्न कम्पनीको दोस्रो साधारणसभाले कम्पनीको चुक्ता पुँजी वृद्धि गर्न प्रवद्र्धकहरुको लागि १ बराबर १ हकप्रद सेयर निष्काशन गर्ने र त्यसपछि सार्वसाधारणको लागि ५ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको जारी पुँजी २२ करोड ५० लाख छ भने चुक्ता पुँजी १६ करोड ९४ लाख रुपैयाँ छ । प्रवद्र्धकबाट संकलन हुन बाँकी ५ करोड ५६ लाख संकलन गरेपछि कम्पनीले १ बराबर १ हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

१ बराबर १ हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ४५ करोड हुने सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा विनोद आत्रेयले बताए ।

कम्पनीको अधिकृत पुँजी ५० करोड रुपैयाँ हो । कुल सेयर पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्काशन गर्ने निर्णय भएको उनले बताए । यस कम्पनीमा अर्थमन्त्रालय, आईएमई ग्रुप, विशाल ग्रुप, बैकर्स, पूर्व प्रशासकहरुको लगानी छ ।