नेप्सेसँगै कारोबार रकम बढ्यो, बिहीबार मात्रै ७२ करोडको सेयर किनबेच

विकासन्युज                              २०७५ भाद्र २८ गते ३:१३

काठमाडौं । सेयर बजारमा नेप्से परिसूचक सँगै कारोबार रकममा पनि वृद्धि भएको छ । बिहीबारको बजारमा ७२ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २९ करोड ६९ लाख रुपैयाँ बढी हो । अघिल्लो दिन(बुधबार)को दिनभरको बजारमा ४३ करोड २९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

बिहीबार कुल १७३ कम्पनीको २७ लाख ११ कित्ता सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी एनएमबी बैंकको ५ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३५५ रुपैयाँ रहेको छ । त्यस्तै, एनआईसी एशियाको पनि ५ करोड ४९ लाखको सेयर किनबेच भएको छ । पछिल्लो केही दिनदेखि लगातारका कारोबार बढेको यस बैंकको सेयर मूल्य प्रतिकित्ता ४१३ रुपैयाँ रहेको छ ।

समग्रमा बिहीबारको नेप्से परिसूचक १४.१३ अंकले उकालो लागेर १२४४.८४ अंकमा पुगेको छ । सो दिनको नेप्से बुधबारको तुलनामा १.१५ प्रतिशतले उकालो लागेको हो ।

दोेहोरो अंकले बढेको बजारमा नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । सो दिन यस कम्पनीका लगानीकर्ताले ९.७७ प्रतिशत कमाएका छन् । बिहीबार संस्थाको सेयर मूल्य अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ४२ रुपैयाँले बढेर ४७२ रुपैयाँ पुगेको छ । (याे पनि पढ्नुहाेस्)