विशाल बजार कम्पनीलाई तत्काल साधारणसभा गर्न उच्च अदालतको आदेश, व्यवस्थापन समूहले अवज्ञा गर्दैै

विकासन्युज                              २०७४ आषाढ़ २० गते ९:२०

काठमाडौं । उच्च अदालतले विशाल बजार कम्पनी लिमिटेडलाई साउन मसान्तसम्ममा वार्षिक साधारणसभा गर्न आदेश दिएको छ । न्यायधिशद्वय जीवनहरि अधिकारी र प्रमोद कुमार श्रेष्ठ बैद्यले असार ७ गते परमादेश जारी गर्दै कम्पनीको वार्षिक साधारणसभा २०७४ साउन ३१ गतेसम्म गर्न गराउन भनेको हो ।

कम्पनीका सेयरधनीहरु सुजन दत्त, विनय श्रेष्ठ र सुनिल कुमार शाक्यले विशाल बजार कम्पनी कानुन विपरित चलेको, वार्षिक साधारणसभा नगरेको, वित्तीय अवस्था सार्वजनिक नगरेको, सेयरधनीलाई गुमराहमा राखेको, २ जना सञ्चालकले कम्पनीलाई मनोमानी रुपमा सञ्चालन गरेको आरोप लगाउँदै तत्काल साधारणसभा गर्न गराउन माग गर्दै अदालतमा मुद्दा हालेका थिए ।

मुद्दाको पक्षमा वरिष्ठ अधिवक्ता मिथिलेश कुमार सिंह र अधिवक्त हेमन्तराज ढकालले वहस गरेका थिए । सेयरधनीले कम्पनीको अध्यक्ष तथा सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव र कम्पनी रजिष्ट्रारको कार्यालयलाई विपक्षी बनाएर मुद्दा हालेको थिए ।

उच्च अदालतले तत्काल साधारणसभा गर्न आदेश दिए व्यवस्थापन समूह भने तयारीमा जुटेको छैन । ‘विगतमा पनि विसम परिस्थितिका कारण साधारणसभा गर्न नसकिएको हो । अहिले पनि साधारणसभा गर्न कठिन छ’ विकासन्युजसँग कुरा गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीलिपजंग शाहले भने ।

अराजकता र भ्रष्टाचार

विशाल बजार अराजक शैलीमा चल्ने र चरम भ्रष्टाचार हुनु खराब उदाहरणको चित्रण हुँदै आएको पब्लिक कम्पनी हो । यो कम्पनी नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको र सर्वसाधारणको सेयर लगानी भएको कम्पनी हो । कम्पनीको चुक्ता पुँजी ४ करोड ९१ लाख रुपैयाँ छ । पछिल्लो समय यस कम्पनीको सेयर मूल्य ३०३० रुपैयाँ छ ।

कम्पनीको प्रबन्ध पत्रमा ११ जना सञ्चालक समिति रहने व्यवस्था छ । तर हाल यस कम्पनीमा २ जना मात्र सञ्चालक छन् । कम्पनी ऐन अनुसार लिमिटेड कम्पनीमा कम्तिमा ३ जनाको सञ्चालक समिति हुनु पर्छ भने कम्तिमा एक जना महिला सञ्चालक हुनु पर्ने नयाँ व्यवस्था छ । कम्पनी ऐनका यी व्यवस्थालाई विशाल बजारका सञ्चालक समिति र व्यवस्थापन समितिले अवज्ञा गर्दै आएका छन् ।

हाल यस कम्पनीमा नेपाल खाद्य संस्थानका प्रतिनिधि शंकर सापकोटा र नेशनल ट्रेडिङका प्रतिनिधि लबराज जोशी सञ्चालन छन् । दुबै सञ्चालकको सम्बन्धि संस्थामा पनि भ्रष्ट छवि भएको र विशाल बजारमा सञ्चालक भएपछि पनि धेरै कम्पनीलाई गोलमाल ढंगले चलाएको जानकारहरु बताउँछन् ।