एभरेष्ट बैंकको एक अर्ब ९१ करोड बढीको संस्थापक सेयर कारोबार, कसले किन्यो ?

विकासन्युज                              २०७५ फाल्गुन २ गते ३:३२

काठमाडौं । सेयर बजार घटेको दिन एभरेष्ट बैंक लिमिटेडको ठूलो परिमाणमा संस्थापक(प्रमोटर) सेयर किनबेच भएको छ । बैंकको एकैदिन(बिहीबार) एक अर्ब ९१ करोड ७६ लाख ३९ हजार ३७५ रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको हाे ।

बिहीबार ब्रोकर नम्बर ५८(नासा सेक्युरिटज कम्पनी) र ब्रोकर नम्बर ४९(अनलाइन सेक्युरिटज प्रा.लि) मार्फत ठूलो परिणाममा एभेष्ट बैंकको प्रमोटर सेयर कारोबार भएको हो । बैंकको एकैदिन भएको तीनवटा कारोबारमा प्रतिकित्ता २६५ रुपैयाँमा कुल ७२ लाख ३६ हजार ३७५ कित्ता सेयर किनबेच भएको छ ।

पहिलो कारोबारमा अनलाइन सेक्युरिटजले नासा सेक्युरिटज मार्फत प्रतिकित्ता २६५ रुपैयाँमा १६ लाख ५९ हजार ५६२ कित्ता सेयर किनेकाे छ । नासाले अनलाइनलाई कुल ४३ करोड ९७ लाख ८३ हजार ९३० रुपैयाँको बैंककाे संस्थापक सेयर बेचेको हो ।

त्यस्तै, दोश्रो कारोबारमा नासाले अनलाइन सेक्युरिटीजमार्फत ९५ करोड ८८ लाख १९ हजार ८२० रुपैयाँ बराबरको सेयर किनेकाे छ । नासाले पनि प्रतिकित्ता २६५ रुपैयाँमा ३६ लाख १८ हजार १८८ कित्ता सेयर किनेकाे हाे ।

त्यसैगरी, अर्को कारोबारमा पुनः अनलाइन सेक्युरिटजले नासा सेक्युरिटज मार्फत प्रतिकत्ता २६५ रुपैयाँमा १९ लाख ५८ हजार ६२५ कित्ता सेयर किनेकाे छ । उक्त कारोबारमा ५१ करोड ९० लाख ३५ हजार ६२५ रुपैयाँ बराबरको सेयर बिक्री भएको छ ।

बजारमा लामो समयपछि २ अर्ब बढी रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार कुल १६४ कम्पनीको २ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

समग्रमा बिहीबारको बजार ८.२१ अंकले घटेर १११२.८७ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७३ प्रतिशतले घटी हो ।