लाभांश घोषणापछि कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य घट्यो, किन्नेको भन्दा बेच्नेको चाप

विकासन्युज                              २०७५ मार्ग २७ गते १:५५

काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकले सेयरधनीलाई ११.२९ लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ६.२९ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

डेभलपमेन्ट बैंकले लाभांश घोषणा पछि संस्थाको सेयर मूल्य घटेको छ । बुधबार प्रतिकित्ता १७५ रुपैयाँ रहेको संस्थाको सेयर मूल्य बिहीबार घटेर प्रतिकित्ता १७३ रुपैयाँ सम्म पुगेको छ । संस्थाको प्रस्तावित लाभांशप्रति लगानीकर्ताहरु निराश देखिएको सेयर मूल्य घट्नुको संकेत हो ।

बिहीबारको कारोबारमा संस्थाको सेयर किन्नेको भन्दा बेच्नेको चाप देखिएको छ । सो दिन करिब २ बजेसम्मको अवधिमा संस्थाको १४१६ कित्ता बिक्रीमा देखिएको छ तर किन्ने भने कोही छैनन् ।

बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । डेभलपमेन्ट बैंकको नवौँ वार्षिक साधारणसभा आगामी पुस २१ गते बस्दै छ । सो प्रयोजनको लागि बैंकले पुस १२ गते संस्थाको बुक क्लोज गर्दै छ ।

हाल डेभलपमेन्ट बैंकको चुक्ता पुँजी ५० करोड ५९ लाख रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ५३ करोड रुपैयाँ नाघ्ने छ ।