सिद्धार्थ बैंकको ऋणपत्र २३ गतेदेखि, २५ हजारदेखि १० करोडकाे किन्न पाइने

विकासन्युज                              २०७५ मार्ग १४ गते ७:३९

काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडले यही मंसिर २३ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १०.५ प्रतिशत ब्याजदरको ७ वर्षे ऋणपत्र “१०.५% एस्.बि.एल्. डिबेन्चर २०८२” प्रतिकित्ता रु १००० का दरले बिक्री गर्न लागेको हो । बैंकले उक्त डिबेन्चरका लागि आवेदन अवधि खुल्ला भएको मितिदेखि छिटोमा मंसिर २६ गते र ढिलोमा पुस २३ गते बन्द हुने जनाएको छ ।

आवेदन दिने व्यक्तिले सीआश्वा प्रणाालीमार्फत् आफ्नो खाता रहेका जुनसुकै बैंक तथा वित्तीय संस्थामार्फत् उक्त डिबेन्चरका लागि आवेदन दिन सक्नेछन् । न्यूततम २५ कित्तासम्म आवेदन दिन मिल्ने उक्त डिबेन्चरका लागि अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यसको अर्थ रु २५ हजारदेखि १० करोड रुपैंयासम्मका लागि एउटा आवेदकले आवेदन दिन सक्नेछन् ।

दोस्रो बजारमा बिक्रीयोग्य हुने उक्त डिबेन्चरको ब्याजदर बजारमा हाल प्रचलनमा रहेको अधिकतम १० प्रतिशत ब्याजदर भन्दा बढी हो ।

बिक्ला सबै ऋणपत्र ?

पछिल्लो समयमा सानिमा बैंकले ल्याएको ‘१०% सानिमा डिवेन्चर–२०८५’को सबै कित्ता ऋणपत्रका लागि तोकिएको न्यूनतम समयभित्र आवेदन नपरेपछि अधिकतम सीमासम्म निष्कासन अवधि लम्ब्याएको छ । अर्थात् सानिमाको ऋणपत्रका लागि आवेदन दिने मिति पुस १ गतेसम्मलाई तोकिएको छ । यो परिप्रेक्षमा सिद्धार्थ बैंकको डिबेन्चरका लागि सर्वसाधारणले पहिलो अवधिमा आवेदन गर्छन् कि गर्दैनन् भन्ने चासो बजारमा छ ।

बजारमा अरु डिबेन्चर पनि आउँदै गरेको र त्यस्ता डिबेन्चरहरुले अझ धेरै ब्याजदर प्रस्ताव गरेकोले व्यक्तिगत आवेदकहरु भने त्यसतर्फ आकर्षित हुने सम्भावना देखिन्छ । तर संस्थागत लगानीकर्ताहरुका लागि भने यो रकम धेरै होइन । यस्तो अवस्थामा अधिकतम व्याजदरका लागि उनीहरु कुरेर बस्ने अवस्था रहँदैन । त्यस्तो अवस्थामा ढिलोमा बन्द हुने मितिको अन्तिम समयमा संस्थागत लगानीकर्ताले यस्तो डिबेन्चरमा लगानी गर्ने सम्भावना हुन्छ । लामो समय र उच्च ब्याजदरका कारण व्याजदरमा आउने गिरावटको प्रभावबाट बच्न पनि म्युचुअल फण्ड लगायतका संस्थागत लगानीकर्ताले यस्ता डिबेन्चर खरिदमा अग्रसर हुने सम्भावना छ ।