सेयर किनबेच गर्न ब्रोकर अफिस जानु नपर्ने, रकम राफसाफ पनि कम्यूटरबाटै हुने

विकासन्युज                              २०७५ कार्तिक २७ गते ७:५०

काठमाडौं । सेयर कारोबार गर्नको लागि सेयर ब्रोकर कार्यालय जानु नपर्ने भएको छ । कारोबार रकम राफसाफ तथा फस्र्योटको काम पनि घरबाटै गर्न सकिने भएको छ ।

सेयर खरिदबिक्री आदेश अनलाइनबाट गर्न सकिने व्यवस्था भए लगत्तै सानिमा बैंकले कारोबार रकम राफसाफ पनि अनलाइनबाट नै गर्ने व्यवस्था गरेको हो । बैंकले थ्री इन वान एकाउन्टबाट यस्तो सेवा शुरु गरेको जनाएको छ ।

‘ग्राहकहरुले आफ्नो घर, कार्यालय वा संसारको कुनै पनि स्थानबाट अनलाइन मार्फत विना कुनै झन्झट सेयर कारोबार गर्न सक्ने छन् । साथै, सेयर कारोबारको रकम राफसाफ गर्नको लागि बैंक वा ब्रोकर कार्यालय धाउनु पर्ने छैन’ बैंकका प्रमुख वित्तीय अधिकृत सरोज गुरागाईले जानकारी दिए ।

सानिमा बैंकले सानिमा क्यापिटल सँगको सहकार्यमा यो सेवा प्रदान गरेको र सानिमा क्यापिटलले सेयर ब्रोकर कम्पनीहरुसँग थप सहकार्य गरेको बैंकले जनाएको छ ।

यस्तो सुविधा सम्पूर्ण व्यक्तिगत ग्राहकहरुले पाउने तर संस्थागत लगानीकर्ताले नपाउने बैंकले जनाएको छ ।