सिद्धार्थ बैंकको नाफा १३८ प्रतिशतले वृद्धि, प्रतिशेयर आम्दानी २५ रुपैंया

विकासन्युज                              २०७५ कार्तिक १९ गते ८:०२

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकद्धारा प्रकाशित विवरणअनुसार बैंकले अघिल्लो आर्थिक बर्षको सोही समयको तुलनामा नाफामा १३८ प्रतिशतले वृद्धि गरी ३१ करोड १५ लाख रुपैंया पुर्याएको छ । यो आम्दानी प्रतिशेयर २४ रुपैंया ८१ पैसा हो । अघिल्लो बर्ष बैंकको नाफा १३ करोड ७ लाख रुपैंया थियो ।

बैंकले उक्त अवधिमा निक्षेप १०० अर्ब रुपैंया कायम गरेको छ । यो गत आर्थिक वर्षको अन्तिम त्रैमासभन्दा कम हो । गत असार मसान्तमा बैंकको निक्षेप १०१ अर्ब रुपैंया थियो ।

निक्षेप घटे पनि बैंकले तीन महिनाको अवधिमा कर्जा प्रवाह करिब ५ अर्ब रुपैंयाले बढाएर ९० अर्ब ६७ करोड पुर्याउदा ७९.४७ प्रतिशत पुगेको छ । असार मसान्तमा बैंकको कर्जा लगानी ८५ अर्ब ७५ करोड रुपैंया थियो ।

तीन महिनाको अवधिमा बैंकको रिजर्भ कोषमा भने ५ अर्ब रुपैंयाले बढोत्तरी भएको छ । अघिल्लो आर्थिक वर्षमा निष्क्रिय कर्जा अनुपातमा ठूलो सुधार गरेको बैंकले प्रोभिजन राइटब्याकबाट रिजर्भमा उक्त सुधार गरेको हो ।

कर्मचारी एवं प्रशासनिक खर्चतर्फ पनि बैंक लागत बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही समयमा २२ करोड १२ लाख रुपैंया कर्मचारी खर्च र १२ करोड ७२ लाख रुपैंया प्रशासनिक खर्च रहेको बैंकको यस त्रैमासमा खर्च बढेर क्रमशः ३३ करोड ५८ लाख र १७ करोड २३ लाख रुपैंया पुगेको छ ।

बैंकको आधार ब्याजदर १०.६२ प्रतिशत र लगानी कोषको लागत ७.२० प्रतिशत कायम भएको छ भने स्प्रेडदर ४.७७ प्रतिशत छ ।