नेप्से दोहोरो अंकले घट्यो, लाइफ इन्स्योरेन्स कर्पोरेसनका लगानीकर्ताले गुमाए सबैभन्दा बढी

विकासन्युज                              २०७५ कार्तिक १८ गते ३:०८

काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । कारोबार शुरु भएदेखि घटेको नेप्से परिसूचक अन्त्यमा १३ अंकले घटेर १२०७ अंकमा झरेको छ । समग्रमा सो दिनको बजारमा १.०९ प्रतिशतको गिरावट आएको छ ।

बजारमा परिसूचकमा गिरावट देखिएपनि कारोबार रकममा भने केही सुधार देखिएको छ । आइतबार कुल १५४ कम्पनीको ५६ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी माछापुच्छ्रे बैंकको प्रमोटर सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन १६ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

दोहोरो अंकले ओरालो लागेको बजारमा सबैभन्दा बढी लाईफ इन्स्योरेन्स कर्पोरेसन(नेपाल)का लगानीकर्ताले गुमाएका छन् । एकैदिन कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ८० रुपैयाँ अर्थात ५.६३ प्रतिशत गुमाएका छन् । कम्पनीले ३६ प्रतिशत बोनस घटाएर १२ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेपछि इन्स्योरेन्सको सेयर मूल्यमा भारी गिरावट आएको हो । धेरै लाभांशको आसमा रहेका लगानीकर्ताहरु निराशजनक अवस्थामा रहेका सेयर मूल्यले संकेत गरेको छ ।

बजारमा अन्य समूह बाहेक बाँकी समूहको सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूहको सूचक ६५ अंकले घटेको छ । त्यस्तै, निर्जीवन बीमा ६५, बैंकिङ् १६, उत्पादनमूलक १५ र हाइड्रोपावर समूह ११ अंकले ओरालो लागेका छन् ।