लाइफ इन्स्योरेन्सले १२ प्रतिशत बोनस दिने, सेयर मूल्यमा भारी गिरावट

विकासन्युज                              २०७५ कार्तिक १८ गते १:४४

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)ले सेयरधनीलाई १२ प्रतिशत बोनस दिने भएको छ । साथै, कर प्रयोजनका लागि इन्स्योरेन्सले ०.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव हालै बसेको कम्पनीे सञ्चालक समितिको बैठकले गरेको हो । समितिले कम्पनीको आर्थिक वर्ष २०७३/०७४ को नाफाबाट चुक्ता पुँजीको सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।

यस अघि कम्पनीले ३६ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरी बीमा समितिमा पेश गरेको थियो । उक्त प्रस्तावलाई बीमा समितिले विभिन्न प्राविधिक कारणवश वित्तिय विवरणमा संसोधन गरी पुनः पेश गर्न निर्देशन दिएको थियो ।

उक्त निर्देशनलाई पालना गर्दै वित्तिय विवरण पुनः पेश गरेकाे कम्पनीको प्रस्तावित लाभांशमा गिरावट आएको हो । सोही अनुसार कम्पनीले १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

समितिको प्रस्तावलाई बीमा समितिले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश दिने छ ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ३३ करोड रुपैयाँ रहेको छ । जसमा १२ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी साढे एक अर्ब रुपैयाँ कायम हुने छ ।

लाभांश घोषणासँगै कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ । आइतबार प्रतिकित्ता १५८० रुपैयाँमा कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता १५२० रुपैयाँ पुगेको छ । बोनस सेयर घटेर १२ प्रतिशतमा झरेपछि धेरै बोनस पाउने आसमा रहेका लगानीकर्तामा निरासा देखिएको सेयर मूल्यले संकेत गरेको बुझिन्छ ।