गुहेश्वरी मर्चेण्ट बैंकिङ्गको ५ प्रतिशत नगद लाभांश पारित, संचालकमा ५ जना नियुक्त

विकासन्युज                              २०७५ कार्तिक १६ गते २:२६

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको ५.२६ प्रतिशत नगद लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न फाइनान्सको १७औँ वार्षिक साधारण सभाले संस्थाको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरे अनुसार कम्पनीले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट सो मात्राको नगद लाभांश वितरण गर्ने छ । साथै, संस्थाको संचालक पदमा संस्थापक सेयरधनी तर्फबाट श्रीमान श्रेष्ठ, सरोजनी श्रेष्ठ र रोशनी कसजु तथा सर्वसाधारण तर्फबाट डा.रेश्मा श्रेष्ठ र राजेश मानन्धर र्निविरोध निर्वाचित भएका छन् ।

हाल संस्थाको चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको छ । गत असोज मसान्त सम्ममा निक्षेप ३ अर्ब १६ करोड रुपैयाँ तथा कर्जा २ अर्ब ७३ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, बैंकले सो अवधिमा १ करोड ८२ लाख रुपैयाँ संचालन मुनाफा कमाउन सफल भएको कम्पनीले जारी विज्ञप्तीमा उल्लेख छ ।