एनआईसी एशिया बैैंकको ११ प्रतिशत ऋणपत्र निष्कासनमा एसबिआई मर्चेन्ट नियुक्त

विकासन्युज                              २०७५ कार्तिक ७ गते ११:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले “११ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८५/८६” निष्कासन गर्न नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ ।

बैंकले एक हजार रुपैयाँ अंकित दरका ४० लाख कित्ताले हुन आउने ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनको निमित्त उक्त मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । यस अगाडि बैंकले जारी गरेको १ अर्ब ८३ करोड रुपैंयाको “११ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८२/८३”सम्पूर्ण रुपमा आवेदन प्राप्त भई बाँडफाँड समेत भइसकेको छ । प्रस्तावित ११ प्रतिशत ब्याज भएको यस ऋणपत्र लगानीकर्ताकाे लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने अवसर हुने बंैकको विश्वास छ ।

उक्त ऋणपत्र निष्कासन सम्बन्धी सम्झौतापत्रमा एनआईसी एशिया बैंकका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र नेपाल एसबिआई मर्चेन्ट बैंकिङकातर्फबाट प्रबन्ध निर्देशक छपि राजपन्तले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

४ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमध्ये ८० प्रतिशत (रु ३अर्ब २० करोड) व्यक्तिगत र २० प्रतिशत (रु ८० करोड) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्कासन तथा बिक्री खुला गरिने बैंकले जनाएको छ । बैंकले प्रस्तावित ऋणपत्र ११ प्रतिशत बार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी १० वर्ष अवधिको लागि निष्काशन गर्न लागेको हो ।